|

  • रमेश तिमल्सिना-

रौतहटः रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको बस पार्क अहिले प्रयोगविहीन अवस्थामा छ। चन्द्रपुर नगरपालिका– ४ स्थित टेकानटोलमा रहेको बस पार्कमा सुरक्षाको कारण देखाउँदै बसलगायतका सवारी साधन नराखेपछि उक्त बसपार्क प्रयोगविहीन बनेको हो। 

साविक चन्द्रनिगाहपुर गाविस तथा सर्वदलीय बैठकले अतिक्रमित सरकारी जमिनमा बस पार्क बनाउने निर्णयअनुसार २०६९ असोज १६ गते सञ्चालनमा आएको बस पार्क अहिले प्रयोगविहीन भएको हो। गौर–चन्द्रनिगाहपुर सडक खण्डमा गुड्ने बस, म्याजिक तथा राजधानी जाने टाटा सुमो पार्किङ गर्ने उद्देश्यले यो बस पार्क बनाइएको हो। बस पार्कलाई व्यवस्थित बनाउनका लागि करिव १० लाख रुपैयाँ खर्च भएको बस पार्क व्यवस्थापन समितिका अध्यक्ष प्रताप लामाले बताए।

बस पार्कभित्र सौर्य बत्ती जडान गर्नुका साथै शौचालय, बाथरुम, आराम गर्नेका लागि अस्थायी टहरालगायतका संरचना बनाइएको छ। बसका मजदुरको लापरवाहीका कारण नै बस पार्क प्रयोगविहीन अवस्थामा पुगेको अध्यक्ष लामाको भनाइ छ। 

पछिल्लो दुई वर्षदेखि यस बस पार्कमा सावरी साधन पार्किङ हुन छाडेको छ। बस पार्किङमा राखेका स्थानबाट सामान चोरी हुनुका साथै बसका मजदुरले असुरक्षित महसुस गरेपछि बस पार्कमा पार्किङ गर्न छाडिएको बस व्यवसायी संघ रौतहटका चन्द्रनिगाहपुर शाखाका इन्चार्ज शैलेश गिरिले बताए। 

यता, चन्द्रपुर नगरपालिकाको पहिलो नगर प्रमुखको रूपमा निर्वाचित रामचन्द्र चौधरीले बस पार्कलाई बृहत छलफल गरेर योजनाबद्ध रूपमा निर्माण गरिने बताए। बसपार्क नगरको महत्त्वपूर्ण योजना भएको बताउँदै नगर प्रमुख चौधरीेले दिगो रूपमा बस पार्क निर्माणका लागि चाँडै नै पहल हुने बताए।

बस पार्कमा सवारी साधन नराखिदिँदा अहिले चन्द्रनिगाहपुरको मुख्य चोकलगायतको महेन्द्र राजमार्ग तथा वीरेन्द्र राजमार्गमा सम्पूर्ण किसिमका सवारी साधन पार्किङ गरिएको छ। राजमार्गमा सवारी साधन राखिदिँदा चन्द्रनिगाहपुर चोक नै अस्तव्यस्त बनेको छ। जथाभावी रूपमा बस पार्किङ हुँदा सवारी साधन आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको खतरा बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राममणि उप्रेतीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.