|

काठमाडौँ: नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले उम्मेदवार बनाउँदा १० प्रतिशत प्रत्यक्षमा दलितको उम्मेदवारी सुनिश्चित गर्नुपर्ने माग गरेको छ।

मोर्चाले एक विज्ञप्ति जारी गर्दै दलितलाई पनि नेतृत्व तहमा पुर्‍याउँन १० प्रतिशत प्रत्यक्षतर्फ उम्मेदवार उठाउनुपर्ने माग गरेको हो। मोर्चाका इञ्चार्ज तिलक परियारद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा वाम गठबन्धनबीच भएको सहमतिका आधारमा पार्टीलाई प्राप्त हुने ४० प्रतिशतलाई १०० प्रतिशत मानेर त्यसको १० प्रतिशत प्रत्यक्षतर्फ दलितलाई दिनुपर्ने उल्लेख छ।

विभिन्न समयमा भएका सामाजिक, आर्थिकलगायत अन्य आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको दलित समुदायलाई राज्यको नीति निर्माणको तहमा पुर्‍याउन पनि १० प्रतिशत उम्मेदवारी सुनिश्चित गर्नुपर्ने माग गरिएको विज्ञप्तिमा उल्लेख छ।  

यस्तै, दुई पटक समानुपातिको सूचीमा परेकालाई दाहोर्‍याउन नहुने, पटक पटक चुनावमा हारेकालाई उम्मेदवार बनाउन नहुने तथा स्थानीय तहको निर्वाचनमा हारेका व्यक्तिलाई समेत टिकट दिन नहुने विज्ञप्तिमा उल्लेख छ। उम्मेदवार छनोट गर्दा एकताको भाव झल्कने गरी गर्नसमेत पार्टी नेतृत्वलाई मोर्चाले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.