|

पर्वतः म्याग्दीको धौलागिरी गाउँपालिका– ३ मुनका चन्द्रबहादुर खत्री उमेरले ७६ वर्ष पुगे। अहिलेसम्म पनि नागरिकताको प्रमाणपत्र कस्तो हुन्छ? देख्न समेत नापाएका खत्री यो उमेरमा आएर नागरिकता पाउँदा ‘यस्तो पो हुँदोरहेछ नागरिकता’ भन्दै खुसीले दंग छन्। 

दुर्गम क्षेत्रमा रहेका नागरिकहरूले नागरिकता नपाएको पाइएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले धौलागिरी गाउँपालिका– ७ ताकममा पुगेर नागरिकता वितरण शिविर संचालन गरेपछि चन्द्रबहादुर जस्तै अन्य झण्डै ७० जनाभन्दा बढीले वंशजका आधारमा आफू नेपाली भएको प्रमाणपत्र पाएका छन्। विकट ग्रामीण क्षेत्रमा रहेका अपांगता भएका, जेष्ठ नागरिक र अन्य कारणले नागरिकता बनाउन सदरमुकामसम्म पुग्न नसक्ने सर्वसाधारणहरूलाई लक्षित गरी गाउँमै प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताए। 

उक्त शिविरमा ताकम, मुना, मुदी, लुलाङ, मराङलगायतका क्षेत्रका बासिन्दाहरूले प्रशासनिक काम लिएका छन्। शिविरबारे धौलागिरी गाउँपालिकाकी प्रमुख थमसरा पुन भन्छिन्, ‘विभिन्न कारणले बेनीसम्म पुगेर सेवा लिन नपाएका सर्वसाधारणको सुविधाका लागि गाउँमै घुम्ती शिविर आयोजना गरिएको हो।’

यसबाहेक निजामती कर्मचारी र जनप्रतिनिधिबीच सार्वजनिक सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल गरिरहेको उनले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.