|

काठमाडौं : नयाँ शक्ति पार्टी नेपालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँगको गठबन्धन तोड्दै देशका विभिन्न ५ निर्वाचन क्षेत्रमा एकल उम्मेदवारी घोषणा गरेको छ। त्यस्तै बाम गठबन्धनबाट सूर्य चिह्न लिएर लड्ने यसअघिको निर्णयबाट पछि हट्दै आफ्नो आँखा चिह्न नै लिएर चुनावमा सहभागी हुने भएको छ।

शुक्रबार नयाँ शक्ति पार्टी, नेपालको संघीय सचिवालयको विस्तारित बैठकले गठबन्धनमा आवद्ध दल साझा चुनाव चिह्न प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएकाले आँखा चुनाव चिह्न लिएरै लड्ने निर्णय गरेको हो।

'गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने' बैठकको पहिलो निर्णयमा नै भनिएको छ।

नयाँ शक्ति नेपालले पार्टी  बाम गठबन्धन बाहेक अन्य राजनीतिक दलहरुसँग पनि चुनावी तालमेल गर्ने विकल्प खुला राखेको छ। शुक्रबारको संघीय सचिवालयको विस्तारित बैठकले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीतालाई अस्वीकार गर्ने राजनीतिक पार्टी र व्यक्तिबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ।

'तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी दिने' नयाँ शक्तिको निर्णयमा भनिएको छ। 'हाम्रो गठबन्धनचाहिँ बाम गठबन्धनसँगै रहने भयो तर क्षेत्र विशेषमा तालमेल अन्य राजनीतिक दलसँग पनि हुन सक्छ' नयाँ शक्ति पार्टी नेपालका नेता गंगानारायण श्रेष्ठले थाहाखबरसँग भने।

नयाँ शक्ति पार्टी नेपालले देशका विभिन्न ५ क्षेत्रबाट उम्मेदवार पनि घोषणा गरेको छ। डा. बाबुराम भट्टराई गोरखा २,  कृष्णकुमार चौधरी कैलाली ३, दानबहादुर चौधरी कपिलवस्तु १, प्रेम तामाङ रसुवा र मदन राई  खोटाङबाट चुनाव लड्ने भएका छन्। नेता श्रेष्ठले बाम गठबन्धनबाट आफूहरु अलग नभएको तर अन्य पार्टीले आआफ्नो ढंगले उम्मेदवारी घोषणा गरेपछि आफूहरुले पनि घोषणा गरेको बताए। 'उहाँहरुले ६०/४० भनेर भागवण्डा गर्नुभयो, हामीले पनि भाग खोज्नुपरेन र?' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.