|
सुझाव संकलनका लागि बैतडीका सरोकारवालासँग छलफल गर्दै वातावरण विज्ञहरुको टोली।

बैतडी : नेपाल भारत सीमामा बग्ने महाकाली नदीमा प्रस्तावित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। वातावरण विज्ञहरुको टोलीले प्रभावित क्षेत्रको निरीक्षण तथा स्थानीयसँग छलफल गरेर विस्तृत वातावरणीय व्यवस्थापन योजना निर्माण कार्य अन्तिम चरणमा पु¥याइएको हो।

परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेसनल प्रालिले वातावरणविद्, कृषि विज्ञ र सामाजिक विज्ञहरु टोलीको अध्ययन–अनुसन्धानबाट पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको वातावरणीय प्रभावबारे विस्तृत योजना बन्न लागेको हो।

अध्ययन टोलीले यसअघि सन् २०१३ मा नेपाल सरकारले स्वीकृत गरेको आयोजनाको वातावरण प्रभाव मूल्यांकनको आधार मानेर उच्च बाँध निर्माणस्थलको अध्ययन अनुसन्धान गरी प्रतिवेदनलाई अन्तिमरुप दिने तयारी गरेको छ।

स्थानीयको सुझाव संकलन

नेपाली परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेसनलले गत भदौमा आयोजनाको प्रभावित क्षेत्र बैतडी र दार्चुलाका स्थानीय तहमा गएर नागरिकसँग छलफल गरी सुझाव संकलन गरेको थियो। स्थानीयको सुझावपछि प्रारम्भिक योजना बनाएको विज्ञहरुको टोलीले अहिले बैतडी र दार्चुला जिल्लामा जिल्लास्तरीय कार्यशाला गोष्ठीको आयोजना गरेर सरोकारवालाहरुको सुझाव संकलन गरेको हो।

आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजनालाई अब अन्तिमरुप दिने परामर्शदाता कम्पनी शाह कन्सल्ट ईन्टरनेश्नलका वतावरण विज्ञ अजयभक्त माथेमाले बताए। ‘एक्सपट टोलीबाट लामो समयपछिको अध्ययनपश्चात यो योजनालाई अन्तिम रुप दिने तयारी गरेको छौँ’ उनले भने।

जलाशाय क्षेत्रमा व्यापक असर, २२ हजार बढी विस्थापित हुने

प्रारम्भिक प्रतिवेदनमा बैतडीको पञ्चेश्वरमा बन्ने विश्वकै दोस्रो उच्च बाँध स्थल क्षेत्रमा ठूलो र व्यापक वातावरणीय तथा समाजिक असर पर्न सक्ने उल्लेख गरिएको छ। विशाल तथा जटिल निर्माणको चरण र आयोजना सञ्चालनको चरणमा बस्ती विस्थापन, करिब ९ सय ९४ हेक्टर खेतीयोग्य जमिन डुबान क्षेत्रमा पर्ने, भौतिक संरचना निर्माणको क्रममा बनजंगल नष्ट भई भूक्षय, भूअस्थिरता र बन्यजन्तु र जडीबुटीको विनाश हुने तथा निर्माणस्थलमा विभिन्न महामारी हुन सक्ने खतरा औँल्याइएको छ।

जलाशायको निर्माणले करिव २ हजार ९ सय २६ घरधुरीका २२ हजार ७६५ नागरिक स्थानान्तरण गर्नुपर्ने परामर्शदाता कम्पनीका समाजिक विज्ञ शिव ढकालले बताए। यस्तै त्यो क्षेत्रका ऐतिहासिक धार्मिक सांस्कृतिक धरोहर नष्ट हुने ढकालले बताए। ‘आयोजना निर्माण र सञ्चालनको क्रममा समाजिक र बतावरणीय क्षेत्रमा ठूलो हलचल हुन्छ।’ उनले भने।

उच्च बाँधको निर्माणपछि यस्ता फाइदा

पञ्चेश्वर उच्च बाँधको निर्माणबाट आयोजना क्षेत्रका नागरिकलाई असरसँगै विभिन्न फाईदा पनि हुने विस्तृत बातावरणीय व्यवस्थापनको योजनामा उल्लेख गरिएको छ।

‘बाँध निर्माणको क्रममा हजारौ नागरिकले रोजगारी पाउनेछन्,’ वातावरण विज्ञ अजयभक्त माथेमाले भने, ‘बाँध निर्माणका लागि ८ हजार बढी कर्मचारीको अवश्यकता औल्याईएको छ।’ यस्तै निर्माणकै क्रममा पनि होटल व्यवसाय पनि फस्टाउने छ  भने, आयोजना क्षेत्रमा बसोबास गर्ने नागरिकलाई लामो समय रोजगारी मिल्नेछ।

जलाशाय निर्माण पश्चात पानीको शतहको क्षेत्रफल तथा आयतन बढ्दा मत्य उत्पादनमा बृद्धि हुने, पर्यटनको विकासमा टेवा पुग्ने, रोजगारी बृद्धि भई नागरिकलाई जीवीकोपार्जन गर्न सहज हुने तथा गरिवी निवारणमा टेवा पुग्ने विज्ञहरुको भनाई छ। ‘जलाशायबाट माछा पालनको ठूलो सम्भावना छ,’ कृर्षिविज्ञ गोपीकृष्ण सेडाईले भने, पर्यटनको विकासले पनि फड्को मार्ने देखिन्छ।’

यस्ता छन् व्यवस्थापनका मुख्य योजना

विस्तृत बातावरणीय व्यवस्थापन योजनामा असरहरु औंल्याएर समाधानका लागि पनि १० ओटा मुख्य उप–योजना बनाईएको छ। निर्माण प्रभाव व्यवस्थापन योजना, जल ग्रहण क्षेत्र व्यवस्थापन योजना, प्रदुषण व्यवस्थापन योजना, बन संरक्षण तथा व्यवस्थापन योजना, बन्यजन्तु संरक्षण तथा व्यवस्थापन योजना, माछा व्यवस्थापन योजना, जडीबुटी व्यवस्थापन योजना, कृर्षि सहयोग योजना, पञ्चेश्वर सहयोग योजना र पर्यटन विकास योजना तयार गरिएको छ।

यी योजनाहरुमा प्रभावित क्षेत्रमा देखिने सबै किसिमका असर तथा प्रभावहरुबाट उत्पन्न समस्या समाधानका लागि गरिने कार्य तथा गविधि सुचिकृत गरिएको छ।

 विकास हुने संरचना निर्माणको क्रममा हुने बताबरणीय क्षेतिलाई व्यवस्थापन गर्दै आयोजनालाई दिगो बनाउन यी योजनाहरु लागु हुने वातावरणविद् माथेमाको भनाइ छ। यो विस्तृत योजनालाई पञ्चेश्वर विकास प्राधिकरण र त्यस अन्तरगतका एकाई, परामर्शदाता, निर्माण ठेकेदार, विशेषज्ञ टोलीले कार्यन्वयन गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • good news