|

झापा : बिर्तामोडमा रहेको शिवाकोटी मेनपावरबाट युएई गएका २८ युवा हप्तासम्म विदेशी भूमिमा अलपत्र परे। उनीहरु दुतावासको सहयोगमा बल्ल स्वदेश फर्किएका छन्। विदेशबाट फर्किएपछि उनीहरुले शनिबार म्यानपावरको कार्यालय घेराउ गरे।

प्रतिव्यक्ति ३ लाख ५० हजार रुपैयाँ बुझाएर कामका लागि युएई गएको पीडित युवाहरुको भनाइ छ। जबकी खाडी मुलुकका लागि रोजगारीमा जाँदा प्रतिव्यक्ति १० हजार रुपैयाँ तिर्नुपर्ने सरकारी प्रावधान छ। 

पीडित युवा युवराज कार्कीले म्यानपावरले झूठो आश्वासन देखाएको बताए। उनले नेपालबाट जाँदा युएईको रोयल फाल्गन कम्पनीमा सेक्युरिटी गार्डमा काम लगाइदिने आश्वासन पाएपनि युएई पुगेपछि काम नपाएको गुनासो गरे। ‘हामीले त्यसबेला पनि कालो सुचीमा परेको कम्पनी हो, जान्नौँ भनेका थियौँ, काठमाडौँमा आन्दोलन पनि गर्यौँ तर कम्पनीसँग कुरा गरेको छु भन्दै टारे,’ उनले भने। 

उनले थाहा खबरसंग भने,‘हामीले धेरै दुख पायौँ कति पटक काम माग्न कम्पनीमा गयौँ तर हामीले काम पाएनौँ, एक सातामा एक दिन खाना खाएरपनि हामी बस्यौँ तर अन्त्यमा दूतावासको सहयोगमा नेपालसम्म आयौँ।’ 

उता म्यानपावरका सञ्चालक भुपाल शिवाकोटीले सबै कुरा मिलिसकेको भन्दै घटनाको बारेमा धेरै बोल्न चाहेनन्। उनले ठगीएका व्यक्तिहरुसँग कुरा मिलिसकेको बताए। उनले भने,‘यो कुरा मिलिसक्यो। हामीले उनीहरुले नपाएको एक महिनाको तलब ३३ हजारका दरले दिइसकेका छौँ।’

म्यानपावर व्यवसायीले यसरी विदेशमा अलपत्र पारेर स्वदेश फर्किएहरुलाई आफ्नो पनि खर्च कटाएर केही रकम दिदै घटना ढाकछोप गर्ने गरेका छन्। यस अघिपनि शिवाकोटी म्यानपावरले रकम फिर्ता गरेको नक्कली कागज बनाई पीडितलाई दुःख दिएको घटना सार्वजनिक भएको थियो। अहिले पनि म्यानपावरले यसरी नै घटनालाई लुकाउन खोजेको पीडितले गुनासो गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.