|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले आसन्न निर्वाचनमा नेकपा एमालेले तराई/मधेसमा पनि बहुमत सिट जित्ने दाबी गरेका छन्। शनिबारमात्र म्याद  सकिएको व्यवस्थापिका संसदका निवर्तमान उपसभामुख गंगाप्रसाद यादवलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले तराईमा एमालेविरुद्ध छर्न खोजिएको भ्रम चिर्ने बताए। त्यसको परिणाम आगामी निर्वाचनमा देखिने ओलीको दाबी छ।

संसदमा यादवले राप्रपाको तर्फबाट प्रतिनिधित्व गरेका थिए। एमाले-माओवादी र राप्रपा गठबन्धनमा उनी उपसभामुखमा निर्वाचित भएका थिए।

तराईको विकासका लागि आफूहरुले ल्याएको कार्यक्रम असाधारण रहेको दाबी गर्दै उनले एमाले सरकारबाहिर हुँदा ती कार्यक्रम अलपत्र परेको दबाी गरे। 'हामीले तराईका लागि ल्याएको कार्यक्रम त्यहाँको विकासका लागि असाधारण छ,' ओलीले भने, 'तराईमा घर भन्ने नामका यस्ता छाप्रा छन्, जुन घर होइनन्, तिनीहरुका लागि जनता आवास कार्यक्रम ल्यायौँ, तर हामी सरकारबाहिर भएपछि अहिले त्यो अलपत्र छ।'

साथै उनले कांग्रेस सरकारमा आएपछि ३८ वटा उद्योगधन्दा निजीकरणका नाममा बेचेको आरोप लगाए। 'कांग्रेस सरकार आएपछि ३८ वटा उद्योग निजीकरणका नाममा बेचिदियो। देशलाई अगाडि बढाउने नाममा कांग्रेसले बजार अर्थतन्त्र, विभिन्न नाममा बेचेर खाने कामले देशको अर्थतन्त्रमा ठूलो प्रतिकुल प्रभाव पार्‍यो,' ओलीले भने।

बालकोटस्थित निवासमा आयोजित कार्यक्रममा विप्लव माओवादीका केन्द्रीय सदस्य दलबहादुर बस्नेतलाई पनि पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले विभिन्न कारणले अन्य पार्टीमा अल्मलिएकाहरु विस्तारै एमालेमा आउने  जिकिर गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.