|

काठमाडौं : संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यका लागि अमेरिकाको न्युयोर्कमा सोमबार साँझ हुने निर्वाचनमा नेपाल पनि उम्मेदवार छ। राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यका लागि सोमबार साँझ नेपाली समयअनुसार ७:४५ मा निर्वाचन सुरु हुनेछ। निर्वाचन प्रक्रिया एक घन्टामा पूरा हुनेछ।

एसियन ग्रुपबाट नेपाल, अफगानिस्तान, पाकिस्तान, कतार र मलेसिया गरी पाँच देश प्रतिस्पर्धामा छन्। यीमध्ये चार मुलुक परिषद् सदस्यमा निर्वाचित हुनेछन्। परराष्ट्र मन्त्रालयका अधिकारी यसपटक नेपाल मानवअधिकार परिषद् सदस्यमा नेपाल निर्वाचित हुनेमा आशावादी देखिएका छन्।

परराष्ट्रसचिव शंकरदास बैरागीले परिषद् सदस्यमा विजय सुनिश्चित गर्न न्युयोर्क र जेनेभास्थित राष्ट्रसंघ हेर्ने नेपाली नियोगमार्फत राष्ट्रसंघ सदस्य मुलुकसँग लबिङ तीव्र पारिएको बताए। ‘आज हुने मानवअधिकार परिषद् सदस्य निर्वाचन हाम्रा लागि अत्यन्त महत्वपूर्ण छ। मूलत: नेपालको मानवअधिकारप्रतिको प्रतिबद्धता अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा राख्न र अन्य मुलुकले नेपालको मानवअधिकारबारे प्रश्न उठाए जवाफ दिन यो प्लेटफर्म निकै महत्वपूर्ण हुनेछ’, उनले भने।

साउदी, युएई, इजिप्ट र बहराइनले कतारलाई परिषद् निर्वाचनमा पराजित गर्ने रणनीति अख्यितार गरेको बताइन्छ। ‘यसो भए कतारलाई जाने भोट नेपालको पोल्टामा आउन सक्ने हाम्रो विश्वास हो। हामीले केही समययता हाम्रो जित सुनिश्चितताका लागि विभिन्न मुलुकसँग कूटनीतिक लबिङ तीव्र पारेका छौं’, परराष्ट्र अधिकारीले भने।

परिषद् निर्वाचनमा एसियन ग्रुपबाट नेपालबाहेक अन्य सबै मुस्लिम मुलुक छन्। विश्वका मुलुकले मुस्लिमबाहेक एसियन ग्रुपबाट नेपाललाई समर्थन गर्ने विश्वास गरिएको छ।संयुक्त राष्ट्रसंघको न्युयोर्कमा जारी ७२ औं महासभाका क्रममा मानवअधिकार परिषद् सदस्यका लागि निर्वाचन हुन लागेको हो। परराष्ट्र मन्त्रालयले मावअधिकार परिषद् सदस्यका लागि दुई वर्षअघि उम्मेदवारी दिएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रसंघको ७२ औँ महासभामा न्युयोर्कमा सम्बोधन गर्दै नेपाललाई मानवअधिकार परिषद् सदस्यमा समर्थन गर्न विश्व समुदायलाई आह्वान गरेका थिए। नेपालले सन् १९९३ र २००३ मा दुईपटक राष्ट्रसंघ मानवअधिकार आयोगको सदस्य पदमा जितेको थियो। तर, आयोग सन् २००७ मा परिषद्मा रूपान्तरित भएयता नेपाल यस वर्ष पहिलोपटक निर्वाचनमा सहभागी भएको हो।

परिषद् सदस्यता महत्वपूर्ण : गौतम

संयुक्त राष्ट्रसंघका लागि पूर्वसहायक महासचिव कुलचन्द्र गौतमले मानवअधिकार परिषद् सदस्यमा निर्वाचित हुन सक्नु नेपालका लागि महत्वपूर्ण हुने बताए। मानवअधिकार परिषद् सदस्यमा नेपालको निर्वाचन दुई हिसाबले महत्वपूर्ण हुने उनले बताए।

‘पहिलो, नेपालले मानवअधिकारप्रतिको प्रतिबद्धता अन्तर्राष्ट्रिय मञ्चमा स्पष्टसँग पेस गर्न अवसर पाउनेछ। दोस्रो, विश्वका मानवअधिकारका घटनामा आफ्नो धारणा राख्न पाउँछ’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.