|
फोटो: कान्तिपुर

जनकपुर : १८ दिनअघि चोरी गरेर ल्याएको सात महिने बच्चा खरिद गर्ने महिला प्रहरीको फन्दामा परेकी छन्। सिरहा लक्ष्मीपुर पताइर गाउँपालिका-४ लक्ष्मीपुरस्थित लीला देवी साह कलवारले बच्चालाई साँढे २ लाख रुपैयाँमा खरिद गरेकी थिइन्।

१८ दिन अघि चोरी भएको सात महिने बच्चालाई आइतवार जिल्ला प्रहरी कार्यालय धनुषाले निजको आमाको जिम्मा लगाएको छ भने चोरीमा संलग्न र खरिद गर्नेमध्येका चार जना पक्राउ परेका छन्। प्रहरीले चोरीमा संलग्न अन्य दुई फरार रहेको जनाएको छ।

 घट्ना विवरण अनुसार कमला नगरपालिका–३ पर्सा गाउँकी सुनितादेवी यादव आफ्नै घरको छतमाथि सुति रहेको बेला असोज १२ गते राति साढे १२ बजे उनको सात महिने छोरा शुभम यादवको चोरी भएको थियो।

पाँच सन्तानकी आमा सुनिताको श्रीमान् महेन्द्र यादव बैदेशिक रोजगारीमा छन्। उनको जेठो छोरा सुरेन्द्र यादव कक्षा ९ मा पढ्छन्। सुनिताको घर भन्दा उत्तर रहेको सामुदायिक दालानको छतबाट उक्लेर बच्चा चोरी गरिएको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ।

सिरहा प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले शुभमलाई सिरहा लक्ष्मीपुर पताइर गाउँपालिका–४ लक्ष्मीपुरस्थित लीला देवी साह कलवारको घरबाट आइतवार बच्चाको उद्धार गरी आमाको जिम्मा लगाएको हो।

प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले आइतवार आयोजित पत्रकार सम्मेलनमा बच्चा चोरीमा संलग्न पाँचमध्ये तीन जनालाई सार्वजनिक गरेका थिए। दुई जना भने फरार छन्। बच्चा चोरी गर्ने गिरोहमा एक महिला समेत रहेको एसपी सिंहले जानकारी दिए।

बच्चा चोरी प्रकरणमा कमला नपा ३ का बीरे भन्ने बिरेन्द्र यादव, सोही नपा २ का राधाकृष्ण मण्डल, सिरहा नगरपालिका १० नरहियाका दिलिप कुमार मण्डल, विदेह नपा झिझा टोलका बाला पासमान तथा चोरी भएको बच्चा खरिद गर्ने लीला देवी साह संलग्न रहेको एसपी सिंहले जानकारी दिए। तीमध्ये घटनाका मुख्य आरोपी बीरे भन्ने बिरेन्द्र यादव तथा बाला पासमान फरार छन्।

सुति रहेको शुभमलाई निजको छिमेकी बीरे भन्ने बिरेन्द्र यादवले छतबाट चोरेर लगेका थिए। त्यही राती नै खरीदकर्ता लीला देवी साहको जिम्मा लगाएका थिए। एसपी सिंहका अनुसार बच्चा चोरी गर्ने बीरेलाई लीलाले दिलिप मण्डलमार्फत २ लाख ५० हजार नगद दिएका थिए।

प्रहरी हिरासतमा रहेकी लीला देवीले छोरा प्राप्तिका लागि आफूले हालसम्म दिलिपलाई साढे ६ लाख रुपियाँ भुक्तान गरिसकेकी बताईन्। लीलाका श्रीमान् वैदेशिक रोजगारीमा छन् र उनको तीन छोरीमात्र छन्। छोरा प्राप्तिका लागि लीला र दिलीप आठ महिनासम्म दिल्लीमा पनि बसेको एसपी सिंहले जानकारी दिए।पक्राउ आरोपीहरुमाथि शरीर बन्धक, मानव बेचबिखन तथा बिक्री गरी तीन वटै धारा अनुसार कार्यवाही चलाइएने एसपी सिंहले जानकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.