|

काठमाडौं : विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले मंगलबार बेलुका फेसबुकमा एउटा फोटो र स्टाटस राखिन्। जसमा उनले लेखेकी थिइन् 'माँ र छोरी मिलेर सेल बनाउँदै छौं। बौद्ध, नयाँ बस्ती स्थित फ्रेस मार्टमा पनि किन्न सक्नुहनेछ र व्यक्तिगत सम्पर्कबाट पनि अर्डर लिनेछु।'

जसमा ३ हजार ४ सयले लाइक गरेका छन् भने सयौंले कमेन्ट लेखेका छन्, ९७ जनाले सेयर गरेका छन्। तिहार सेलरोटी धेरै बिक्री हुने पर्व हो। यही पर्वको अवसर पारेर आमा (रमला) र उनले  असोज २९ गतेदेखि महाराजगञ्जस्थित घरमा सेलरोटी पकाउन थालेका हुन्। उनको भनाइ अनुसार वौद्ध र नयाँवस्तीको फ्रेसमार्टबाट उनीहरुले पकाएको सेलको बिक्री भइरहेको छ। त्यसबाहेक रञ्जुलाई नै सम्पर्क गरेर पनि सेलरोटीको अर्डर लिन सकिने उनले बताएकी छन्।

रञ्जुको नयाँ कामबारे जानकारी लिन मंगलबार टेलिफोन गर्दा उनले आफू अर्डर आएको ठाउँमा सेल पुर्‍याउन गाडीमा जाँदै गरेको बताएकी थिइन्। 'ममी र म मिलेर अस्तिदेखि सेलरोटी बनाउन थालेका हौं, अहिले धेरै डिमान्ड आइरहेको छ' उनले भनिन्। हाल उनलाई काठमाडौंमा नजिकदेखि टाढाटाढासम्मबाट पनि सेलरोटीको अर्डर आइरहेको छ।

दैनिक १ सय भन्दा धेरै सेलरोटी बनाउने उनीहरुले नजिकैबाट माग भएमा घरसम्मै पुर्‍याइदिने (होम डेलिभरी) पनि गरिदिन्छन्। अहिले तिहारलाई लक्षित गरेर सेलरोटी बिक्री गरे पनि माग आइरहेमा यसलाई निरन्तरता दिन सकिने रञ्जुले बताइन्। उनीहरुले बनाएको सेलरोटी प्रतिगोटा १८ रुपैयाँमा बिक्री गर्छन्।

पहिला सेल पकाउन नजान्ने रञ्जुले अहिले आमाकै सहयोगमा सेल रोटी पकाउन पनि जानेकी छन्। वैशाख ३१ गते भएको स्थानीय चुनावमा काठमाडौं महानगरपालिका प्रमुखमा उम्मेदवारी दिएकी उनले तेस्रो धेरै मत २३ हजार ४ सय ३९ ल्याएकी थिइन्। सेलरोटीबारे उनले फेसबुकमा राखेको स्टाटसमा धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन्। केहीले भने राजनीतिमा सफल नहुने भन्दै व्यापार गर्न सुझाव दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.