|

काठमाडौं : नेपाललाई ट्रान्जिट बनाई अफ्रिकी मुलुक नाइजेरियाबाट नेपालमा चिम्पाञ्जीको तस्करीमा संलग्न अन्तर्राष्ट्रिय गिरोह पक्राउ परेको छ। दुईवटा चिम्पाञ्जीसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दुई नेपाली, तीन भारतीय र एक पाकिस्तानी नागरिक छन्। नेपाली नागरिक सञ्जीव भारती र राजकुमार तिवारी, भारतीय नागरिक मोहम्मद उस्मान, मोहम्मद फएन र शरिफ सहिन तथा पाकिस्तानी नागरिक आवेद अस्लामा खान पक्राउ परेका हुन्। गिरोहका नाइके पाकिस्तानी नागरिक खान हुन्।

नेपाल ट्रान्जिट, भारतमा तस्करी सो समूहले चिम्पाञ्जी तस्करीमा नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गरेको प्रहरीले जनाएको छ। ‘भारतमा लैजान चिम्पाञ्जी नेपाल ल्याइएको देखिन्छ,’ सिआइबीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले भने, ‘त्यसमा केही नेपालीले पनि सहयोग गरेका थिए।’ पक्राउ परेका तीनजना भारतीय चिम्पाञ्जी लिन नेपाल आएका थिए। पाकिस्तानी नागरिक पैसा लिनका लागि मंगलबार मात्र दुबईबाट नेपाल आएका थिए। हालसम्मको अनुसन्धानअनुसार पाकिस्तानी नागरिक नै नाइके भएको प्रहरी अधिकारीहरू बताउँछन्। नाइजेरियादेखि भारतसम्म चिम्पाञ्जी तस्करीको सबै प्रबन्ध उनले नै मिलाएका थिए।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार सो चिम्पाञ्जी नाइजेरियामा रहेका भारतीयहरूले पठाएका हुन्। समूहका दुईजना भारतीय नाइजेरियामा पक्राउ परिसकेका छन्। पाकिस्तानी नागरिक खानले नै भारतीयलाई नाइजेरियामा सम्पर्क गरी तस्करीमा सघाएका हुन्। दुबईमा बस्ने खान विभिन्न किमिसका अवैध गतिविधिमा संलग्न व्यक्ति भएको हुन सक्ने प्रहरी आशंका छ।

विमानस्थलमा सेटिङ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर चिम्पाञ्जी तस्करी भएको अनुसन्धानमा खुलेको छ। सेटिङ मिलाउने भन्सार एजेन्ट राजकुमार तिवारी पनि पक्राउ परेका छन्। भन्सार कर्मचारीलाई सेटिङ मिलाएर उनले चिम्पाञ्जी तथा बाँदरहरू नेपाल भित्र्याएका थिए।

चिम्पाञ्जीसँगै विभिन्न प्रकारका एक सय १२ वटा चरा र आठवटा बाँदर प्रजातिकै जनावरसमेत उनीहरूले नेपाल भित्र्याएका थिए। केही चराहरू आयात र बिक्री–वितरण गर्न पाइन्छ। पक्राउ परेका नेपाली युवक तिवारीसँग चराहरू कारोबार गर्ने लाइसेन्स छ। उनकै लाइसेन्स प्रयोग गरी चरासँगै चिम्पाञ्जी लुकाएर नेपाल ल्याइएको सिआइबीले जनाएको छ। तस्करीमा विमानस्थल भन्सारका कर्मचारीहरूमाथि समेत छानबिन हुने प्रहरीले जनाएको छ।

भारतमा किन चिम्पाञ्जी र बाँदरको तस्करी हुन्छ भन्ने खुल्न सकेको छैन। एउटा चिम्पाञ्जी उनीहरूले चार लाख भारतीय रुपैयाँमा किन्ने गरेको प्रहरीले जनाएको छ। चिम्पाञ्जी र बाँदरलाई प्रहरीले जावलाखेलस्थित चिडियाघरमा राखेको छ। थप अनुसन्धानको जिम्मेवारी जिल्ला वन कार्यालय काठमाडौंलाई दिइएको सिआइबीका प्रवक्ता श्रेष्ठले बताए। नेपालमा चिम्पाञ्जी भेटिएको यो पहिलोपटक हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.