|

झापा  न बारीमा सयपत्री, मखमली कुनै फूल फूलेका छन्। न त तिहारको बत्ती बाल्न परम्परागत दियो, वर्तन सलेदोको जोहो नै गर्नु परेको छ।  केही वर्षअघिसम्म र  अहिलेको तिहार मनाउने शैलीमा अकल्पनीय परिवर्तन आएको अनुभव गरेकी छिन्, कमल गाउँपालिका– ३ की ६५ वर्षीया चन्द्रकुमारी पौडेललाई।

‘तिहार भित्रिसके पनि धेरैको घर आँगनमा फूल फूलेको देख्नै पाइन्न, छिटफुट रुपमा फुलेका फूल तिहारमा प्रयोग हुने मालाका लागि पुग्दैन’, उनी भन्छिन्, ‘बजारभरि प्लाष्टिकका फूल र विद्युतीय दियो। यिनैले काम चलाउनु परेको छ।’ घर घरै विद्युतको उत्पादन, आपूर्ति र यसको उपयोगीतालाई ख्यालै नराखी  उज्यालो तिहार बनाउने निहुँमा विद्युतीय दियो र झिलिमिली बत्ती टांगिएको उनी बताउँछिन्।

तिहार नजिकिएसँगै झापाका बजारमा प्रकृतिक फूल देखिन छाडेको छ। जिल्लाको मुख्य बजार दमक, बिर्तामोड, भद्रपुर, काँकडभिट्टालगायत बजार अहिले प्लाष्टिकका कृत्रिम फूलले ढाकेको छ।

गत वर्षसम्म  प्राकृतिक फूल पाइने बजारमा यो पटक देख्न  नपाएको कमल गाउँपालिका ७ की निर्मला सेढाईँले बताइन्। उनले भनिन्, ‘गएका वर्ष बजारमा भनेजस्तो फूल पाइन्थ्यो। यो पटक त दुई पटकसम्म दमक आएँ तर फूल पाएको छैन, सबै प्लाष्टिकका ।’ उनले पनि घरमा फूल त रोपेकी थिइन् तर साउन अन्तिम साता आएको बाढीले सबै बगायो।

उनी भन्छिन्,‘ फूल त रोपेको हो, बाढीले सबै बगायो, भएको अलि अलि पनि फूलेकै छैन।’ घरको ढोकामा कृत्रिम फूलले काम चले पनि लक्ष्मीपूजा र भाइटीकामा प्राकृतिक फूल नै आवश्यक पर्ने उनी बताउँछिन्।

यस्तै समस्या छ झापा दमक ९ की सुकमाया धिमाललाई पनि। बजारमा फूल नपाएपछि प्लाष्टिकको फूलले भए पनि घर सजाउने मनस्थितिमा छिन् उनी। 'घरमा रोपेको फूल फुलेन। बजारमा पनि सबै प्लाष्टिकको मात्र रहेछ', उनले भनिन्, ‘ पाइने ठाउँमा पनि एउटा मालाको १ सय ४० रे!’ कम्तिमा लक्ष्मीपूजा र भाइलाई चाहिँ प्राकृतिक फूलको माला लगाइदिन पाउने उनको आशा छ।  संधै  गाउँमा पाइने भए पनि यो पटक गाउँमा फूल नपाइएको बताइन्। ‘अरुबेला त गाउँतिर खोज्न जाँदा पाइन्थ्यो', उनले भनिन्, 'यो पटक त त्यो पनि पाइएन। सबै बाढीले बगायो भने।’

जिल्लामा कति भारतीय फूल भित्रिन्छ कृषि विकास कार्यालयसँग छैन तथ्यांक

यता जिल्ला कृषि विकास कार्यालय झापासँग भने जिल्लामा कति फूल खपत हुन्छ भन्ने तथ्यांक छैन। जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख प्रकाश डाँगीले जिल्लामा व्यवसायी फूल खेती नहुने भएकाले कति खपत हुन्छ भन्ने तथ्यांक नभएको बताए। ‘भारतबाट कति मात्रामा फूल निर्यात हुन्छ भन्ने तथ्यांक छैन’ उनले भने, ‘तर पनि ९५ प्रतिशत फूल भारतबाट नै आउँछ।’

साढे पाँच करोडको विद्युतीय सामग्री आयात
जिल्लामा यस पटक तिहारका लागि साढे पाँच करोडको विद्युतीय सामग्री भित्रिएको बताइएको छ। भित्रिएका सामग्री सबै बिक्री भइसकेको नेपाल विद्युतीय महासंघका केन्द्रीय सदस्य डिल्ली बारकोटीले बताए। उनका अनुसार यस पटक ‘एलईडी’ बत्ती, इलेक्ट्रोनिक दियो, माला बत्ती लगायत धेरै बिक्री भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.