|
प्रतीकात्मक तस्विर

चितवन : राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाइते अवस्थामा फेला परेको गैंडा मरेको छ। निमोनिया भई गैंडा मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । 

घाँटी प्वाल परी श्वासनली समेत फुटेको र पानी पसेकाले निमोनिया भई गैंडा मरेको चिकित्सकले बताएका छन्। अन्दाजी १५, २० वर्षको पोथी गैंडा असोजको तेस्रो साता घाइते अवस्थामा फेला परेको थियो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले अर्काे गैंडाले हानेर गैंडाको घाँटीमा प्वाल परेको अनुमान रहेको बताए।  

उक्त गैंडाको घाँटीसँगैं करङ र खुट्टामा समेत गम्भिर चोट देखिएको थियो। यसअघि गैंडालाई डाट गरेर बेहोस बनाई एन्टिवायोटिक, भिटामिन र मिनरल दिइएको थियो। तर घाउ ठूलो भएकाले बचाउन नसकिएको निकुञ्जले जनाएको छ । 

यसअघि गत भदौको अन्तिम साता चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अन्तरगत कुमरोज सामुदायिक वनमा भाले गैंडाले हानेर अर्काे भाले गैंडा मरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.