पर्वत : तिहार लागेसंगै घरगाउँ र शहरबजारमा देउसी भैलो खेल्ने अनेकौं समूह देखिन थालेका छन्। दिउँसोदेखि राति अबेरसम्म पनि भैलेनी र देउसी समूहले गाउँ शहर गुञ्जायमान बनाइरहेका हुन्छन्। सबैका घरमा झिलिमिली बत्ती बलिरहेको बेला भैलेनीको समूह छिरेपछि बल्ल तिहार लागेको आभास हुन्छ। तर हिजोआज गाउने देउसी र भैलो अर्कै स्वरुपको बनेपछि भने लाग्छ कि यो डिस्को हो या दोहोरी साँझ?
सदरमुकाम कुश्माबजारको मुख्य चोकमा भैली गाउँदै गरेको एक समूहले भैली खेलेको नाममा 'रजनी फ्यान, लुङ्गी डान्स डान्स' भन्दै कम्मर मर्काए। एक जना टोली नेताले आशिर्वाद दिंदै भट्याउने अनि अरु साथीले देउसी रे वा भैलो भनेर गाउने देउसी भैलोको परम्परा हिजोआज छैन।
भैलेनीमा टोल नै थर्किने गरी स्पिकरमा पप, रिमिक्स, हिन्दी वा रेकर्ड गरिएका फिल्मका गीत गाउदै युवकयुवतीहरु नाचिरहेका थिए। पर्वतका साहित्यकार टुकनाथ रेग्मी ‘बेलुराम’ भन्छन्, 'यस्तो परम्पराले नेपाली साहित्य र मौलिक कला नै दिशाहीन भएको छ। आशिर्वाद दिने नेपाली झर्रा शब्द सुन्नै पाइदैन आजभोलि। यस्तै गर्दै जाने हो भने केही दशकमा भैलो भन्ने कस्तो हुन्थ्यो र? भनेर खोज्नुपर्ने दिन आउँछ।'
गाउँमा भन्दा शहरमा भैलेनी गीतमा अझै बढी विकृति देखिएको छ। रेकर्डेड गीतमा थोरै जनाले पनि प्रस्तुति दिन मिल्ने, वाद्यवादन वा विशेष कला भएका व्यक्ति आवश्यक नपर्ने, अरुले भन्दा चर्को आवाज लगाएर आफ्नो टोलीको प्रभाव देखाउन खोज्ने प्रचलनका कारण पनि मौलिक भैली सुन्न पाइदैन। युवा पुस्ताले मौलिकताको ख्याल नगरे पनि गाउँका कुना काप्चामा भैलो खेल्दै गरेका बालबालिकाहरुले भने जानी नजानी भट्याउँदै देउसी र भैलो भनेको भने सुन्न पाइन्छ।
आफ्ना पालामा चल्ने र गाइने गरेका गीत आजभोलि खासै सुन्न नपाउने बृद्धबृद्धाहरु भैली खेल्ने टोली आउँदा नमज्जा लाग्ने बताउँछन्। आफ्ना पालाको जस्तो देउसी भैलो अहिलेकाले गाउन नसक्ने पर्वत फलेवास नगरपालिका, लिमिठानाकी ७१ वर्षीया वृद्धा झलक तिमिल्सेनाले बताइन्। करिब १२ वर्षको उमेर हुँदा गाउँघरमा आफूले गाएको भैलेनीको गीत यसरी सम्झिन् :
एक माने के हो? भैली
जाँतोको हाँतो – भैली
दुई माने के हो? – भैली
बाख्रीका थुन – भैली
यो घर कत्रो ? – भैली
दरबारै जत्रो – भैली
'आजभोलिका ले त के गाउँछन र? क्यासेट बजाएर नाच्छन्। क्यासेट बजाएर त जहिले नाचे नि भो नि, तिहारमा किन नाच्नु?'
तपाईंको ईमेल गोप्य राखिनेछ ।