|

काठमाडौं : प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले राजनीतिक दलहरुको सद्वुद्धिले मुलुकमा छिट्टै निर्वाचन सम्पन्न हुने र जनताले आफ्नो भाग्यको फैसला आफै गर्ने आशा व्यक्त गरेका छन्। शुभ दिपावलीको अवसरमा रिपोर्टर्स क्लबले विहीबार प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटारमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा शुभकामना दिँदै पराजुलीले भने ‘उनीहरुको सद्वुद्धि पलाओस् र निर्वाचनमा सबै जाउन, जनताको भाग्यको फैसला जनताले गर्नेछन्।’

उनले न्यायालय आफ्नो बाटोमा हिँडिरहेका बताउँदै आफ्नै गतिमा चलेको न्यायालयले सिद्धान्त, कानुन, पद्धति र प्रणालीलाई बचाउने काम गरिहेको धारणा राखे। ‘सविधान र कानुनको संरक्षण न्यायलयले गर्छ, यही नैं जनताको आशा हो’, प्रधानन्यायाधीश पराजुलीले भने ‘जहाँ न्यायपद्धति बलियो छ, जहाँ विधिको शासन दरिलो छ,त्यहाँ बिकास भएको छ र सभ्यता जागेको छ।’ उनले विधिको शासन दरिलो भएको ठाउँमा नै जनता हाँसेर बाँच्न सक्ने बताए।

सञ्चारकर्मी कसैको पक्षमा नलागेर स्वतन्त्र हुनुपर्छ भन्दै प्रधानन्यायाधीश पराजुलीले सञ्चारकर्मीले न्यायाधीशको जस्तै कसैको पक्षमा लाग्न नहुने जिकिर गरे। उनले भने ‘न्यायाधीश वा पत्रकार उनीहरु कसैका हुँदैनन्। तपाईँहरु सत्यको लागि हिँड्नुस्। सत्यको पक्षमा आफ्नो आवाज बुलन्द गर्नुस्। सत्यको पक्षमा हामी सबै लाग्नुपर्छ।’

संस्कृति र परम्परालाई बचाई राख्न भेटघाट र रमाइलो पनि गर्नुपर्छ भन्दै उनले कहिले गम्भीर, कहिले अध्ययनशील त कहिले लगनशील हुनुपर्नेमा जोड दिए। न्यायालय र सञ्चार जगत सबैको उद्देश्य, विधिको शासन, पद्धति र प्रणाली नै हो भन्दै पराजुलीले सभ्य, भव्य र विकसित मुलुक भए मात्र जनताले हाँसेर बाँच्न पाउने धारणा राखे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.