|
फाइल फोटो thahakhabar.com

काठमाडौं : आफन्त नहुनुको पीडा त छँदैछ, द्वन्द्वकालमा राज्य र तत्कालीन विद्रोही माओवादीद्वारा बेपत्ता पारिएका परिवारजनमा सम्पत्ति भोगचलन, नाता प्रमाणीकण र अंशबण्डालगायत घरेलु काममा समेत कानुनी अड्चन आइलागेको छ।

बेपत्ता आफन्तको कानुनी हैसियत किटान नहुँदा आफूहरू ठूलो मर्कामा परेको उनीहरू बताउँछन्। ‘आम मानिसको जीवनमा कहिल्यै नआउने र आम रूपमा सोच्दै नसोचिने झमेलाहरू बेपत्ताका परिवारले भोगिरहनुपरेको छ’, बेपत्ता समाजका उपाध्यक्ष रूपेश साह भन्छन्, ‘बाबु बेपत्ता हुँदा छोराछोरीको नागरिकता बनाउन समस्या भएको छ।

पति बेपत्ता हुँदा कतिपय पत्नीको हक कायम हुन नसकेको अवस्था छ। कतिपय  परिवारमा मूल व्यक्ति नहुँदा ऋणधन र कागजी लेनदेनको व्यावहारिक काममा समेत ठूलो बाधा उत्पन्न भएको छ।’ बेपत्ताका परिवारलाई अंशवण्डा र अचल सम्पत्ति भोगचलनमा निकै समस्या छ। बेपत्ता भएकाका पत्नीहरूमा आफू ‘सधवा’ कि ‘विधवा’ भन्ने अन्योल पनि छ।

कानुनी र व्यावहारिक मात्र होइन, सांस्कृतिक र परम्परागत कार्यमा पनि बेपत्ता परिवारका सदस्यमा एक किसिमको अनिश्चयले समस्या पार्ने गरेको उपाध्याक्ष रूपेश बताउँछन्। उनका जेठा दाजु जयकुमार साह ३० वर्षको उमेरमा २०५९ जेठ १४ मा बेपत्ता पारिएका थिए। हालको रामधुनी नगरपालिकामा पर्ने सुनसरीको बकलौरी गाविसबाट उनका दाजुसहित दिपक विश्वकर्म र चिरञ्जीवी गौतमलाई तत्कालीन संयुक्त सुरक्षा फौजले पक्राउ गरेर लगेको थियो। त्यसपछि अहिलेसम्म उनीहरूको अत्तोपत्तो छैन।

‘हरेक वर्ष दिदीले तिहारमा दाजुका लागि पनि माला उन्नुहुन्छ’, रूपेश भन्छन्, ‘दाजु आई पो हाल्नुहुन्छ कि भन्ने आश हुन्छ।’ यसरी आश गर्दागर्दै १५ वर्ष बितिसकेको छ। हरेक दिन उहाँ आइहाल्नुहुन्छ कि भनेर बाटो कुरिरहेकी हुन्छु’, बेपत्ता श्याम भट्टराईकी पत्नी शोभा भन्छिन्, ‘ यसरी आशैआशमा १८ वर्ष बितिसकेछ। अझै कति वर्ष बित्ने हो।’

चन्द्रागिरि नगरपालिका १३ मा पर्ने तत्कालीन नैकाप गाविस निवासी उनका पतिलाई २०५८असोज १८ गते बिहान ८ बजे ५ माओवादीले सोधपुछ गर्न भनी लगेका थिए। त्यसपछि उनी फर्केर आएका छैनन्। शोभाका आँखाले उनको बाटो हेर्न छाडेको छैन। उनी बेपत्ता हुँदा छोरा तीन वर्षको र छोरी साढे चार वर्षकी थिइन्। ‘तिनले  बाबा कहिले आउनुहुन्छ भनेर सोधिरहन्थे। म जवाफ दिन नसकेर लाचार हुन्थेँ’, उनले भनिन्, अहिले बुझ्ने भएर सोध्न छाडे। बरु म नै आफैंसँग सोधिरहेकी हुन्छु, मेरा पति कहिले आउनुहुन्छ?’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.