|

काठमाडौं : यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन भाइटीका। शनिबार दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर दीर्घायुको कामना गरेका छन्। हिन्दू नेपाली परम्परामा भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने चलन छ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा‍. रामचन्द्र गौतमले जानकारी दिए। भाइटीकाको शुभसाइत बिहान ११ बजेर ५१ मिनेटमा थियो। यद्यपि भाइटीकाको दिन दिनभरि नै टीका लगाउन सकिने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

दिदीबहिनी नहुनेले काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गएर टीका लगाएका छन्। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिरबाहिर तस्वीर राखेर पूजा एवम् दर्शन गर्ने व्यवस्था मिलाइएको छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.