|

काठमाडौ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी र हेमन्तप्रकाश ओली नेतृत्वको कम्युनिष्ट न्युक्लियस नेपालबीच एकता भएको छ।काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमबीच विप्लव र ओलीका साथै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सन्देश पौडेल र क्रान्तिकारी माओवादीको केन्द्रीय सदस्य इस्लाम हवारीबीच एकता भएको हो। 

एकतापछि जारी सैद्धान्तिक, वैचारिक एवम् राजनैतिक प्रतिबद्धता जारी गर्दै उनीहरुले भावनात्मक र संगठनात्मक संरचनामा देखिएको समानताको आधारमा मात्रै दुई पार्टी र अन्य नेतासँग एकता नभएको जनाएका छन्। ‘हाम्रो यो सफलता र धु्रवीकरण केवल भावनात्मक र संगठनात्मक समानताको आधारमा सम्पन्न भएको विषय होइन’ प्रतिबद्धता पत्रमा उल्लेख छ, ‘ध्रुवीकरण र एकीकरणको पछाडि महत्वपूर्ण वैचारिक, राजनैतिक, संगठनात्मक र सांस्कृतिक आधारहरु छन्।’

‘मालेमावाद विशेषत : सर्वहारा साँस्कृतिक क्रान्तिप्रतिको समान बुझाई, नयाँ जनवाद र वैज्ञानिक समाजवादप्रतिको विश्वास, राज्य सत्तालाई हेर्ने समान दृष्ट्रिकोण, एकीकृत जनक्रान्तिप्रति सहमत, सर्वहारा वर्गीय कम्युनिष्ट पार्टीको मान्यता र क्रान्तिकारी धु्रवीकरणको आवश्यकताप्रति सहमति’ भएपछि एकता सम्भव भएको जारी प्रतिबद्धतामा उल्लेख छ।

एकतापछि नेकपा माओवादीका महासचिव विप्लवले ध्रुवीकरण र एकताबाट पार्टीले महत्वपूर्ण सफलता प्राप्त गरेको औल्याए। माओवादी आन्दोलनलाई खास लक्ष्यमा पुर्‍याउने बताउँदै उनले भने, ‘तपाईहरुले सोच्नुभयो, माओवादी विभाजित भयो भने माओवादी सिद्धिन्छ, माओवादी फुट्यो भने अर्को पार्टी बन्छ तर त्यसलाई फुटाएर किचिमिची बनाउने सपना तपाईहरुले देख्नुभयो ? त्यो गलत बुझाई छ।’ 

आफ्नो पार्टीले देशमा शान्ति, एकता र समृद्धि चाहेको भन्दै महासचिव विप्लवले जनताको मौलिक र नैसर्गिक अधिकारको सुनिश्चितता गरेपछि मात्रै शान्ति हुने दावी गरे। शान्ति भएमात्रै नेपाल समृद्धिको बाटोमा अघि बढ्ने बताउँदै उनले व्यवस्थालाई पुरानैतिर फर्काएर शान्तिको कुरा गर्नु शान्ति नभई युद्ध भएको प्रष्ट्याए।

‘जनतालाई आपसमा भिडाउने, जातिय क्षेत्रीय र धार्मिक नारा दिएर उक्साउने अनि अधिकार नदिनु भनेको बिखण्डन निम्त्याउनु हो’ उनले भने, ‘संसद्वादी यथास्थितिवादीले जनताको न्यायपूर्ण आवाजलाई बन्दुकको छायाँमा पार्ने काम गरिरहेका छन्।’ उनले वास्तविक शान्ति, एकता, समृद्धि र स्वाधीनताको कुरा गर्दा युद्धको आरोप लगाउने, युद्धको त्रासबाट जनतालाई दास र विदेशीले गुलाम बनाउने काम गर्ने गरेको खण्डमा माओवादी युद्ध गर्न तयार भएको उद्घोष गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.