|

काठमाडौं : सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम मार्फत हालसम्म २ लाख ४५ हजार ३ सय १८ जनाले उपचार सेवा लिएका छन्। स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका अनुसार स्वास्थ्य बिमा सञ्चालन भएको २२ जिल्लाका करिब साढे २ लाख जना बिमितले निशुल्क उपचार सेवा लिएका हुन्।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका वरिष्ठ जनस्वास्थ्य प्रशासक  डा. भुवन पौडेलका अनुसार विमा कार्यक्रम सञ्चालन भएका जिल्लामध्ये सबैभन्दा बढी इलाम जिल्लामा ८ हजार १ सय ११ जनाले उपचार सेवा लिएका छन्। 

सबैभन्दा धेरै उच्च रक्तचापका बिरामी

सरकारले नागरिकलाई निशुल्क रुपमा उपचार सेवा उपलब्ध गराउन २०७२ चैत २५ देखि स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको हो। हाल यो कार्यक्रम २२ जिल्लासम्म विस्तार भइसकेको छ। स्वास्थ्य विमा गरेका परिवारका सदस्यले तोकिएको सरकारी स्वास्थ्य संस्थामा ५० हजार रुपैयाँसम्मको उपचार निशुल्क पाउँछन्।

विमा कार्यक्रममा सहभागीमध्ये उपचार सेवा लिनेमा धेरैजसो उच्च रक्तचापका विरामी छन्। हालसम्म ७ हजार सात ७ सय २५ जना बिमितहरुले उच्च रक्तचापको उपचार गराएका डा. पौडेलले बताए। पेट सम्बन्धी समस्या भएका ३ हजार ६ सय जनाले विमा कार्यक्रम मार्फत उपचार सेवा लिएका छन्। त्यस्तै ३ हजार ४ सय ८१ जनाले ग्याष्टिकको उपचार गराएका छन्। श्वासप्रश्वास सम्बन्धी समस्याको उपचार गराउने विरामीको संख्या २ हजार २ सय रहेको छ।

समितिले विमा कार्यक्रम मार्फत भदौसम्ममा १४ करोड २४ लाख २५ हजार ९ सय ८७ रुपैयाँ संकलन भएको जनाएको छ। समितिका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. पौडेलका अनुसार बिमा कार्यक्रम मार्फत उपचार सेवा दिएका अस्पतालहरुलाई ४ करोड ५० लाख दिन बाँकी छ।

सरकारले आर्थिक वर्ष ०७३/०७४ को बजेटमार्फत आगामी तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा गर्ने लक्ष्य सार्वजनिक गरेको छ। सरकारले हालै व्यवस्थापिका संसदबाट स्वास्थ्य बिमा विधेयक पनि पारित गरिसकेको छ। अब स्वास्थ्य विमालाई सबै नागरिकलाई अनिवार्य गर्ने सरकारको तयारी छ। यो आर्थिक बर्षमा भने सरकारले थप १५ जिल्लामा बिमा कार्यक्रम विस्तार गर्ने तयारी गरेको छ।

के हो स्वास्थ्य बिमा?

सरकारले अहिलेसम्म ५ जना सदस्य रहेको एक परिवारसँग वर्षमा २ हजार ५ सय रुपैयाँ लिएर स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराएको छ। एउटा परिवारमा सामान्यतया ५ जना सदस्य रहने अनुमान गरी सरकारले ५ जनाको परिवारबाट २ हजार ५ सय लिएर परिवारका सबै सदस्यको स्वास्थ्य बिमा गराउँछ।

परिवारमा ५ भन्दा बढी सदस्य भएमा एक जनाको थप ४२५ रुपैयाँ तिरेर सदस्य बन्‍न सक्नेछन्। स्वास्थ्य बिमामा सहभागी भएपछि परिवारका सदस्यलाई वार्षिक ५० हजार रुपैयाँ बराबर उपचार खर्च प्रदान गर्ने व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.