|

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बुमा यस बर्ष गत बर्षको तुलनामा पर्यटक आगमन  दोब्बर बढेको छ। यस वर्षको भदौ २३ गते देखि असोज २३ गतेसम्म ७ हजार ४८४ जना विदेशी पर्यटक खुम्बु भ्रमणमा आएका छन्। अघिल्लो वर्ष सोही समयमा ५ हजार ३ सय ८४ पर्यटक खुम्बु भ्रमणका लागि आएका पर्यटक प्रहरी लुक्लाका हवलदार जयप्रकाश गोहितमानले जानकारी दिए।

भदौ २३ देखि असोज २३ को एक महिनामा गत वर्ष भन्दा यसवर्ष २ हजार एक सय पर्यटक बढी आएका हुन्। प्रहरीको तथ्यांक अनुसार यस वर्ष भदौ २३ देखि कात्तिक १ गतेसम्म १० हजार ४३९ जनाले खुम्बु भ्रमण गरेका छन्। यस बीचमा भ्रमण सकेर ३ हजार ९७१ जना बाहिरिएका छन्। गत सोमबार मात्र २ सय ६३ जना भ्रमणमा आएका थिए।

केही दिनयता खुम्बु क्षेत्रमा चिसो बढ्दै गएपछि पर्यटकहरु भ्रमण छोट्याएर फर्कने तयारीमा रहेका ट्रेकिङ गाइड चुडामणि केसीले बताए। 'यो वर्ष चाडै चिसो सुरु भएको छ, त्यसैले भ्रमण छोट्याउने तयारी भइरहेको छ' उनले भने।

खुम्बु भ्रमणमा आउने पर्यटक र उनीहरुका सहयोगी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुक्लास्थित तेञ्जिङ हिलारी बिमानस्थल आउने गर्छन्। अहिले भ्रमण सकेर पर्यटकहरु धमाधम फर्कन थालेपछि लुक्ला आउने भन्दा काठमाडौं जाने यात्रुको संख्या बढेको तारा एयर लुक्लाका इन्चार्ज फुनुरु शेर्पाले बताए।

खुम्बु क्षेत्रमा सबैभन्दा बढी अष्ट्रेलिया, युके, जर्मन, अमेरिका, स्पेन, फ्रान्स, क्यानडा, भारत, चीन, इटली, मलेसिया, जापान, थाइल्याण्ड, पोल्याण्ड, स्वीजरल्याण्ड, नेदरल्याण्ड लगायतका देशबाट पर्यटक आउने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.