|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण अगावै संसदमा निर्वाचन सम्बन्धी कानुन र संविधान संशोधन विधेयक दर्ता गराउने बताएका छन्। मंगलबार साँझ अनलाइन पोर्टलका सम्पादकहरुसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारको मूल प्राथमिकता निर्वाचन भएकोले निर्वाचन कानुन र संविधान संशोधनमा सहमति जुटाएर भारत भ्रमणमा जाने बताएका हुन्।

‘यो सरकार निर्वाचन गराउन चाहन्न भन्ने आरोप सत्य होइन, सरकारको मूल प्राथमिकता नै सहमति जुटाएर निर्वाचन गराउने हो’, प्रधानमन्त्रीले भने, ‘निर्वाचन सम्बन्धी कानुन र संविधान संशोधन विधेयक संसदमा दर्ता गराएरमात्र भारत भ्रमणमा जाने मेरो तयारी छ।‘

प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते भारत भ्रमणमा जाँदै छन्। प्रधानमन्त्रीको विशेष दूतका रुपमा भारत भ्रमणमा गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी प्रधानमन्त्रीको भ्रमण भदौ ३० मा तय गरेका थिए। उपप्रधानमन्त्री निधि मंगलबार नै स्वदेश फर्किएका छन्।  

प्रधानमन्त्रीले संविधान संशोधन लगायतका विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पनि सँगै लिएर हिँड्ने प्रतिबद्धता व्यक्त गरे। संघीय प्रदेशको सीमा निर्धारणको विषय लगायत सबै विषयमा तत्काल टुंगो नलागे पनि चरणबद्ध रुपमा सहमति गरेर भए पनि निर्वाचन गराउने सरकारको योजना रहेको उनले सुनाए।

१२ बुँदे सहमति र विस्तृत शान्ति सम्झौताको मूल पात्र नेपाली कांग्रेस र माओवादी रहेकोले यी दुई शक्तिबाटै शान्ति प्रक्रियालाई टुंग्याउन सकिने विश्वासका साथ नयाँ गठबन्धन बनाएको उनले बताए। ‘द्न्द्वका मूल पात्र हामी हौँ, सम्झौताको टुंगो पनि हामीबाटै लाग्छ’, उनले भने।

मधेस लगायत सबै वर्ग क्षेत्रको नेतृत्व गर्न सक्नु राष्ट्रवाद भएको बताउँदै प्रधानमन्त्रीले ‘कसैलाई बाहिर राखेर राष्ट्र बलियो बनाउन सकिन्छ भन्नेमा आफू सहमत नभएकोले एमालेसँगको गठबन्धन तोडिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.