|

कालीकोट : कर्णाली करिडोरअन्र्तगत ४०० के.भी. प्रसारण लाइनको डिपिआर निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले कालिकोटको खाँडाचक्र नगरपालिका–११ को रेगिलघाटमा जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरेको छ। ५ वर्षभित्र निर्माण कार्य पूरा गरिसक्ने लक्ष्यसहित अगाडि बढाइएको कर्णाली करिडोर विद्युत् प्रसारण लाइनको डिपिआरका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको हो।

कर्णाली करिडोर डिपिआरका लागि रेगिलघाटको करिब १६ हजार हेक्टर जमिन अधिग्रहण हुने र ४८ घरधुरी विस्थापित हुनेछन्। विद्युत्को केन्द्रीय प्रसारण लाइन नपुगेको कर्णालीमा विद्युत् राष्ट्रिय प्रसारण लाइन पुर्‍याउने, कर्णाली बेसिनमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि कैलालीको लम्कीदेखि कालिकोटको रेगिलघाटमा ४०० के.भी प्रसारण लाइनको डिपिआर निर्माण हुन लागेको पूर्व उर्जामन्त्रीसमेत रहेका विनाविभागिय मन्त्री महेन्द्रबहादुर शाहीले बताए। ‘विद्युत नपुगेको कर्णालीमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जोड्ने तयारीका साथ यो काम अगाडि बढाइएको छ,’ उनले भने, ‘कर्णाली बेसिनमा उत्पादन हुने विद्युत यसै ग्रिडमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी छ।’

कर्णाली बेसिनमा उत्पादन हुने तिला–१ र २, फुकोट कर्णालीलगायतका जलविद्युत् आयोजनाहरु यसै ४०० के.भी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको मन्त्री शाहीले बताए। ‘तिला–१ र २, फुकोट कर्णाली जलविद्युत् आयोजनाहरु बन्दैछन्,’ उनले भने, ‘ति आयोजनाहरुबाट उत्पादन हुने विद्युत्लाई यसै प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ।’

तत्कालका लागि कर्णालीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत जोड्नका लागि दैलेखबाट ३३ के.भी प्रसारण लाइनलाई जोडेर कालिकोटको खाँडाचक्र नगरपालिकामा एउटा ग्रिड राखिने र रास्कोट नगरपालिकाका अर्को ग्रिड राख्ने तयारी पूरा भएको मन्त्री शाहीले बताए।

‘तत्कालका लागि जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पर्ने विद्युत्का लागि दैलेखबाट ३३ के.भी. विद्युत् प्रसारण लाइन जोडिने छ,’ उनले भने, ‘त्यसैमार्फत कालिकोटमा विद्युतीकरण गर्ने तयारी गरिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.