|

काठमाडौं :  नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनमा रहेको नयाँ शक्ति पार्टी नेपालले  पहिलो चरणको प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार नटुङग्याउदै गठबन्धन छोड्यो। यसको मुख्य कारण थियो गोरखा -२ बाट को उम्मेदवार बन्ने भन्ने विवाद।

यो क्षेत्रबाट नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफै उम्मेदवार हुनुपर्ने अडान राखेपछि अन्तत: भट्टराईले कांग्रेससँग तालमेल गर्न पुगे।

पहिलो चरणको निर्वाचनमा वाम गठबन्धन र नेपाली कांग्रेसले उम्मेदवार छनोटमा असन्तुष्टी समाधान गर्न नसक्दा केही ठाउँमा बागी उम्मेदवारी कायमै छ। यद्यपी दलहरुको कसरतपछि धेरै बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिए।

तर, मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा उम्मेदवार छनोटमा असन्तुष्टी संबोधन गर्न थप समस्या पर्ने देखिएको छ। वाम गठबन्धनलाई मात्रै नभइ केही साना पार्टीहरुसँगको तालमेलमा निर्वाचनमा सहभागी भएको कांग्रेसलाई पनि उस्तै समस्या छ। कांग्रेसलाई त आफ्नै पार्टीभित्र असन्तुष्टी संबोधन गर्न हम्मेहम्मे परेको छ।

दलहरुलाई उम्मेदवार चयन गर्न समस्या परेका केही निर्वाचन क्षेत्र हुन् झापा ३, चितवन २, तनहुँ १ र  दाङ २। झापा र तनहुँमा कांग्रेसभित्र समस्या देखिएको छ भने चितवन र दाङमा वाम गठबन्धनभित्र समस्या देखिएको छ। 

कांग्रेसले बिहीबार मात्रै शीर्ष २२ नेता उठ्ने क्षेत्र तोक्दा पूर्व महामन्त्री कृष्ण सिटौलाको नाम समेटिएको छैन। सिटौलालाई समानुपातिक निर्वाचन पद्धतितर्फ सिफारिस गरिए पनि सिटौलाले आफू प्रत्यक्षतर्फ (झापा ३ बाट) नै चुनाव लड्ने बताउँदै आएका छन्। २०७० को निर्वाचनमा विजयी भएका सिटौलाले सोमबार मात्रै झापा पुगेर आफू झापा ३ बाटै उम्मेदवारी दिने दाबी गरेका थिए। राप्रपासँग चुनावी तालमेल गर्ने तयारीमा रहेको कांग्रेसले यो क्षेत्रबाट राप्रपाका राजेन्द्र  लिङ्देललाई सहयोग गर्न सिटौलालाई समानुपातिकमा राखिएको राप्रपा श्रोतले बताएको छ।  

कांग्रेसले तनहुँ क्षेत्र नम्बर १ बाट पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बन्ने निर्णय गरिसकेको छ। २०४६ सालपछिका हरेक चुनावमा तनहुँबाट निर्वाचित पौडेललाई यसपटक जिल्लाकै अर्का नेता गोविन्दराज जोशीले चुनौती दिएका छन्। कांग्रेसले उक्त क्षेत्रमा पौडेलको नाममा निर्णय गरे पनि तनहुँ क्षेत्र नम्बर एकको विवाद टुंगिएको छैन। जोशीले मंगलबार मात्रै तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। त्यसो त जोशीलाई २ नम्बर निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउन पनि कांग्रेसलाई सहज छैन। उक्त क्षेत्रमा केन्द्रीय सदस्य शंकर भण्डारी र प्रदीप पौडेल आकांक्षी छन्।

त्यस्तै चितवनमा २ मा वाम गठबन्धनलाई उम्मेदवार चयन गर्न समस्या परेको छ। माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले सो क्षेत्र आफूले पाउनु पर्ने दाबी गरेका छन्। तर पूर्व सांसद तथा स्थानीय स्तरमा प्रभाव जमाएका एमाले नेता कृष्णभक्त पोखरेलले पनि यो क्षेत्रमा आफ्नो प्रभाव भएको र आफूले पाउनुपर्ने दाबी गर्दै आएका छन्।

नेता बादलले २०७० को निर्वाचनमा चुनावमा प्रतिस्पर्धा नै गरेका थिएनन् भने एमालेका जिल्ला अध्यक्ष पोखरेलले यही क्षेत्रबाट निर्वाचन जितेका थिए। चितवनको तीन मध्ये एक निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठ्ने भएपछि बाँकी दुईवटा क्षेत्र एमालेले आफूले पाउनुपर्ने बताएको छ। तर माओवादीका वरिष्ठ नेता बादललाई कसरी र कहाँ व्यवस्थापन गर्ने भन्ने चुनौती वाम गठबन्धनमा रहेको छ। 

त्यस्तै वाम गठबन्धनमा दाङ क्षेत्र नम्बर २ मा कसलाई उम्मेदवार बनाउने भन्ने समस्या छ। दाङमा माओवादी नेता कृष्णबहादुर महरा र एमाले नेता शंकर  पोखरेल दुवैले दावी गरेका छन्। घोराही उपमहानगरपालिका पूरै र तुलसीपुर उपमहानगरका केही वडा समेटिएको यस निर्वाचन क्षेत्रमा दुवै नेताले आफूले उम्मेदवार बन्न पाउनु पर्ने दाबी गरेपछि कसलाई दिने भन्ने समस्या परेको छ।

अहिले चार जिल्लाका चार स्थानीय तहमा बढी विवाद देखिए पनि दोस्रो चरणमा निर्वाचन हुने सबै ४५ जिल्लाका कुनै न कुनै निर्वाचन क्षेत्रमा उम्मेदवारी चयनमा समस्या परेको देखिएको छ।

कसरी मिलाउलान् विवाद?

चितवन दाङ लगायतका केही क्षेत्रमा उम्मेदवार चयन गर्न समस्या परेको एमाले सचिव प्रदीप ज्ञवालीले स्वीकार गरे। 'हामीलाई केही क्षेत्रमा समस्या परेको छ, एउटै पार्टीभित्र त समस्या पर्छ, अहिले तालमेल गरेका छौँ, तर समस्या समधान गरिहाल्छौँ' ज्ञवालीले भने। उनले अबको दुई दिनमै देशैभरका निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याउने पनि बताए। 'हामी निरन्तर छलफलमा बसिरहेका छौँ, एक दुई दिनमै देशभरका उम्मेदवार टुङ्ग्याइसकिने छ' ज्ञवालीले भने। उनी भने गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिफारिस परेका छन्। 

नेपाली कांग्रेस संसदीय बोर्डका सदस्य डा.रामशरण महतले पनि उम्मेदवार चयनमा सामान्य समस्या देखिए पनि ठूलो समस्या नरहेको बताए। 'कांग्रेसमा सँधै टिकट वितरण र व्यवस्थापनमा समस्या पर्छ, अहिले भने त्यस्तो देखिएको छैन' महतले भने। केही क्षेत्र तथा स्थानमा म पनि प्रतिस्पर्धा गर्छु, मैले टिकट पाउनुपर्छ भनेर माग गर्नु स्वभाविक भए पनि पार्टीको निर्णय सबैले मान्‍ने नेता महतले बताए। महत पहिलो चरणको निर्वाचन अन्तर्गत नुवाकोट १ बाट प्रतिनिधसभा सदस्यको उम्मेदवारी दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.