|

काठमाडौं : नेपालको इतिहासको १७४३ देखि १९५५ सम्मको कालखण्डको विश्लेषणसहितको पुस्तक 'आधुनिक नेपालको इतिहास : १७४३-१९५५ महत्वपूर्ण विषयहरुको समीक्षा' विमोचित भएको छ। नेकपा माओवादी केन्द्रको अन्तराष्ट्रिय विभाग प्रमुखसमेत रहेका लक्ष्मण पन्तले लेखेको इतिहासको समीक्षा रहेको पुस्तकलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विमोचन गरेका हुन्।

तीनवर्ष अघि नेपालको वामपन्थी आन्दोलनमा आएको टुटफूट र राजनीतिक अस्थीरताले आफूलाई नेपालको इतिहासको समीक्षा गर्न घचघच्याएको लेखक पन्तले बताए। नेपालको वर्तमान इतिहासको निर्माण भएकोले आफूले पुस्तक लेखनमा लागेको उनको भनाइ थियो।

आदर्शवादी इतिहास लेखन प्राथमिकतामा परेको बेला नेपालको इतिहासलाई भौतिकवादमा आधारित रहेर पन्तले नेपालको इतिहास निर्माणमा जनताको सहभागिता र परिस्थितिको स्थानलाई समेटेको माओवादी अध्यक्ष प्रचण्डको भनाइ थियो। उनले इतिहासका पात्रलाई आदर्श मानेर मात्रै लेखिएकोले नेपालको इतिहास निर्माणको परिस्थिति र त्यसमा जनताको सहभागिता यसअघिका इतिहासका पुस्तकमा नआएको बताए।

त्यस्तै नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले इतिहासको सही लेखन हुनुपर्ने बताएका थिए। पृथ्वीनारायण शाहदेखि मातृका कोइराला प्रधानमन्त्री भएको बेलासम्मको कालखण्डलाई पुस्तकमा समेटिएको ज्ञवालीको भनाइ थियो। पुस्तकमाथि टिप्पणी गर्दै कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले लामो अनुसन्धानबाट पुस्तक तयार पारिएको बताए। उनले पुस्तकमा इतिहासमा घटेका घटना र पात्रहरुलाई विविध दृष्टीकोणबाट व्याख्या गरिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.