|

काठमाडौंः झापाको दमक र मोरङको पथरी शनिश्चरेमा २०४६ सालदेखि भुटानी शरणार्थीहरू बस्दै आएका छन्। लामो समयदेखि बस्दै आएका शरणार्थीहरू पछिल्लो समय पुनर्वासका कारण तेस्रो मुलुक जान थालेपछि शरणार्थी क्याम्प पातलिँदै गएको छ।

अहिले पथरी र दमकस्थित बेल्डाँगीमा गरी करिब नौ हजारको संख्यामा मात्र शरणार्थीहरू बस्दै आएका छन्। भुटान फर्कन उनीहरूले पटक पटक आन्दोलन गरे। तर उनीहरूको स्वदेश फर्कने आन्दोलन अहिलेसम्म सफल भएको छैन।

शरणार्थीहरूले आफ्नो दीर्घकालीन समस्या समाधानका लागि पनि पटक पटक आन्दोलन गर्दै आएका छन्। उनीहरूले आफूहरूको समस्याको समाधानका लागि स्वदेश फिर्ती, तेस्रो मुलुक पुनर्वास र स्थानीयकरणको माग गर्दै आएका छन्। तर पनि अहिलेसम्म तेस्रो मुलुक पुनर्वासले मात्र प्राथमिकता पाएको छ। यसकारण धेरै शरणार्थीहरूले विरक्तिएर तेस्रो मुलुक पुनर्वासको विकल्प रोजेका छन्। शिविरमा अहिले धेरैजसो वृद्धवृद्धा छन्।

उनीहरू आफ्नै देश फर्कने अठोटका साथ बसेका छन्। पुनर्वासले अहिले शिविरमा पारिवारिक विचलनसमेत ल्याएको छ। कोही परिवार अमेरिका, कोही अष्ट्रेलियालगायत विभिन्न मुलुकमा हुँदा धेरै पारिवारिक विचलनमा परेका हुन्। शिविरभित्र अहिले पनि शारीरिक, मानसिक रोगी, दृष्टिविहीन तथा विभिन्न किसिमले अपांगता भएकाहरू पनि छन्। उनीहरूको संख्या ५६० रहेको भुटानी शरणार्थी अपांग संघकी अध्यक्ष देवीमाया गुरुङले जानकारी दिइन्।

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघीय उच्च आयुक्तको कार्यालय दमकका अनुसार अहिलेसम्म एक लाख आठ हजारको हाराहारीमा भुटानी शरणार्थीहरू तेस्रो मुलुक पुनर्वास भएका छन्।

हेर्नुहोस् भुटानी शरणार्थी शिविरका थप फाेटोहरु :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.