|

बैतडी : प्रदेश नम्बर ७ को ९ जिल्लाका कुल १६ निर्वाचन क्षेत्रमध्ये एक–एकवटा क्षेत्र रहेका ४ जिल्लामा पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुँदैछ। प्रतिनिधिसभाका १ र प्रदेशसभाका २–२ क्षेत्र रहेका बाजुरा, बझाङ, दार्चुला र बैतडीमा चुनावी चहलपहल निकै बढिसकेको छ। उम्मेदवारहरु उम्मेदवारी दर्ता गराएर भोट माग्न व्यस्त छन्। चिया पसलदेखि गल्ली तथा चोकमा चुनावी चर्चा नै सुनिन्छ।

गत असारमा भएको स्थानीय तह निर्वाचनमा प्रदेश ७ मा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा भएको थियो। माओवादी केन्द्र तेस्रो स्थानमा थियो। अहिले एमाले र माओवादी मिलेपछि कांग्रेसलाई चुनौती थपिएको छ। स्थानीय तह निर्वाचनमा प्राप्त मत परिणाम हेर्ने हो भने यी चारै जिल्लामा वाम गठबन्धन कांग्रेसभन्दा अघि देखिन्छ।

बैतडीमा वाम गठबन्धन अघि

स्थानीय तह निर्वाचनमा बैतडीमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा थियो। कांग्रेसले १० मध्ये ६ स्थानीय तह जित्दा एमालेले ३ र माओवादीले १ स्थानीय तहमा जित हात पारेका थिए। धेरै स्थानीय तह कांग्रेसले जिते पनि कुल मतमा भने एमाले केही अघि थियो। एमाले र माओवादी मिल्दा कांग्रेस अझै पछि परेको छ। चौंथो स्थानमा रहेको राप्रपाले सघाउँदासमेत वाम गठबन्धन अगाडि नै देखिन्छ। 

बैतडीबाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका नरबहादुर चन्द र वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका दामोदर भण्डारी मुख्य प्रतिस्पर्धामा छन्। प्रदेशतर्फ (क) मा कांग्रेसबाट हरिमोहन भण्डारी तथा वाम गठबन्धनबाट माओवादीका प्रेमप्रकाश भट्ट तथा (ख) मा राप्रपाका गणेश चन्द तथा वाम गठबन्धनबाट एमालेका लीलाधर भट्ट उम्मेदवार बनेका छन्।

स्थानीय निर्वाचनमा प्राप्त मत :

एमाले : २७, ३८९
माओवादी : १८, ७१९
जम्मा : ४६,१०८ (वाम गठबन्धन)

कांग्रेस: २७,०८७
राप्रपा: ६,४०४
जम्मा: ३३,४९१ (लोकतान्त्रिक गठबन्धन)

दार्चुलामा ७ हजार मतले वाम गठबन्धन अगाडि

स्थानीय तह निर्वाचनमा दार्चुलामा पहिलो बनेको कांग्रेस वाम गठबन्धन बनेपछि पछि परेको छ। जिल्लाका कुल ९ मध्ये ५ स्थानीय तहमा कांग्रेस, ३ मा एमाले र १ मा माओवादी केन्द्र विजयी भएका थिए। तर, एमाले र माओवादी मिले पछि कुल मतमा कांग्रेस पछि परेको हो। कांग्रेससँग गठबन्धन बनाएको राप्रपाका वडाध्यक्षका उम्मेदवारहरुले दार्चुलाबाट जम्मा २५८ मत ल्याएका छन्। त्यसले कांग्रेसलाई ठूलो सहयोग पुग्ने देखिँदैन।

प्रतिनिधिसभा सदस्यका लागि दार्चुलामा कांग्रेसबाट विक्रमबहादुर धामी तथा वाम गठबन्धनबाट एमालेका गणेशसिंह ठगुन्ना उम्मेदवार बनेका छन्। प्रदेशतर्फ (क) मा कांग्रेसबाट मदन गिरी तथा वाम गठबन्धनबाट एमालेका मानबहादुर ठगुन्ना तथा (ख) मा कांग्रेसबाट जगदिश पाल तथा वाम गठबन्धनबाट माओवादीका मानबहादुर धामी उम्मेदवार छन्।

स्थानीय तहमा प्राप्त मत:
एमाले २०,६२६
माओवादी ९,११२
जम्मा: २९,७३८ (वाम गठबन्धन)

कांग्रेस २२,१६१
राप्रपा २५८
जम्मा: २२,४१९ (लोकतान्त्रिक गठबन्धन)

बझाङमा कांग्रेसलाई कठिन

बझाङमा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसले पृथ्वीबहादुर सिंहलाई उम्मेदवार बनाएको छ। प्रदेशतर्फ (क) बाट चन्द्रदेवी जोशी र (ख) बाट नरेशबहादुर सिंह उम्मेदवार छन्। वाम गठबन्धनबाट प्रतिनिधिसभामा एमालेका भैरवबहादुर सिंह तथा प्रदेशतर्फ (क) मा एमालेका अर्जुन थापा र (ख) मा माओवादीकी देवकी मल्ल थापा उम्मेदवार छन्।

कुल १२ स्थानीय तह रहेको बझाङमा स्थानीय तह निर्वाचनमा एमालेले ८ तथा कांग्रेसले ४ स्थानमा जित हात पारेका थिए। यहाँ कांग्रेसको तुलनामा एमाले एक्लै पनि बलियो छ। त्यसमाथि माओवादी थपिँदा वाम गठबन्धन थप मजबुत बनेको छ।

स्थानीय तहमा प्राप्त मत:

एमाले: २८,५८९
माओवादी १२,१३३
जम्मा: ४०,७२२ (वाम गठबन्धन)

कांग्रेस २५,५८१
राप्रपा ३८
जम्मा: २५,६१९  (लोकतान्त्रिक गठबन्धन)

गठबन्धनले बाजुरामा कांग्रेसलाई चुनौती

बाजुराबाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका कविराज पण्डित तथा वाम गठबन्धनबाट एमालेका लालबहादुर थापा उम्मेदवार छन्। प्रदेशतर्फ (क) मा कांग्रेसका जनकराज गिरी तथा वाम गठबन्धनबाट एमालेका बलदेव रेग्मी तथा (ख) मा कांग्रेसका पदमबहादुर शाही तथा गठबन्धनबाट माओवादी केन्द्रका प्रकाश शाहको उम्मेदवारी परेको छ।

स्थानीय निर्वाचनमा बाजुराका ९ मध्ये ६ स्थानीय तह कांग्रेस र ३ वटामा एमाले विजयी भएका थिए। एक्लाएक्लै चुनाव लड्दा बलियो देखिएको कांग्रेसलाई एमाले माओवादी मिलेपछि चुनौती थपिएको छ। कांग्रेससँग मिलेको राप्रपाका वडाध्यक्षका उम्मेदवारहरुले जिल्लाभरमा कुल १८८ मत ल्याएकाले कांग्रेसलाई त्यसले ठूलो सहयोग पुग्ने देखिँदैन।

स्थानीय तहमा प्राप्त मत:
एमाले २२,०५५
माओवादी ४,४२५
जम्मा: २६,४८०  (वाम गठबन्धन)

कांग्रेस २२,७९२
राप्रपा १८८
जम्मा: २२,९८० (लोकतान्त्रिक गठबन्धन)

स्थानीय तह चुनावको मतलाई नै आधार मानेर यसले नै जित्छ भन्न सकिन्न। तै पनि हालसालै भएको चुनावको मत परिणमले दलहरुको अवस्था भने केही हदसम्म झल्काउँछ। आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि स्थानीय चुनावकैजस्तो नतिजा आउला कि त्यसभन्दा फरक तस्बिर देखिएला, त्यो भने चुनावपछि नै थाहा होला।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.