|

धनकुटा : छथर जोरपाटी र महालक्ष्मी नगरपालिकाका युवा एक दशकअघिसम्म खाडी मुलुक जान तँछाड मछाड गर्थे। अहिले उनीहरू विदेशको नामै लिन चाहँदैनन्। 

विदेश गएर श्रम बेच्दा पनि प्रगति नभएपछि आफ्नो श्रम र लगानी गाउँमै लगाउने ध्येयका साथ उनीहरू अहिले कृषिकर्ममा लागेका छन्। वैदेशिक रोजगारीबाट फर्केकाहरू अहिले विशेषगरी तरकारी खेती र गाईफार्मबाट मनग्गे आम्दानी गर्न थालेका छन्। 

धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित परेवादिनको नाम्जाङका भरत गुरुङ २०५६ सालतिर कतारको मरुभूमिमा थिए। कतारमा कमाइ पनि राम्रै थियो। सात वर्षको कतार बसाइपछि २०६३ सालमा नेपाल फर्किएका गुरुङलाई फेरि जान मन लागेन। 

गाउँमै केही गर्ने उद्देश्य लिएर २०७० सालमा झण्डै दुई करोडको लगानीमा गाईफार्म सुरु गरे। उनको गाई फार्ममा झट्ट हेर्दा कुनै विदेशमा सञ्चालित गाई फार्म भन्दा कम छैन। सफा सुग्घर कोठामा उन्नत जातका गाई बाँधिएका छन्। गाई फार्ममा घाँस काट्नका लागि विद्युतीय मेसिन राखिएको छ।

गोठमा उन्नत जातका २६ वटा गाई छन्। ती सबै इलाम र गोरखावाट ल्याएका हुन्। खरिद गरेर घरसम्म ल्याउँदा एउटा उन्नत गाईको लागत २ लाख रुपैयाँसम्म परेको गुरुङले बताए। उनको विदेशको कमाइ महिनाको ५० हजार रुपैयाँ थियो। 

विदेशबाट फर्केपछि केही वर्ष तरकारी खेती गरेका गुरुङले तरकारी खेतीमा धेरै परिश्रम गर्दा पनि भनेजस्तो आम्दानी नभएपछि गाईपालन सुरु गरेको गुरुङले बताए। गाईलाई खुवाउन झण्डै एकसय ५० रोपनीमा उन्नत जातको घाँस लगाएका छन्। ५० रोपनी जग्गा आफ्नै हो। एक सय रोपनी जग्गा भाडामा लिएका छन्। 

‘विदेश भनेको बल र उमेर रहुञ्जेल मात्र हो’ गरुङले भने ‘उमेर ढल्किएपछि मालिकले काम दिँदैन अनि आफ्नो देश फर्किनुको विकल्प हुँदैन।’ स्वदेशमा नै उद्यम गर्न सकियो भने दिगो हुने गुरुङको बुझाइ छ। उनी स्थानीय किसानबाट दूध संकलन गरी डेरीसम्म पुर्‍याउने काम पनि गर्छन्। उनले स्थानीय किसानका गाईवस्तुको दाना निःशुल्क ढुवानी पनि गर्दै आएका छन्।

उनले आफ्नै घरमा पनि झण्डै दश लाख रुपैयाँको लागतमा एक हजार दूध अट्ने क्षमताको 'फ्याट मेसिन' राखेका छन्। उन्नत जातको गाई पाल्न सुरु गरेपछि अहिले गुरुङको जीवनस्तरमा परिवर्तन आएको छ। 

उनले करिब तीन वर्षअघि कामधेनु दुग्ध उत्पादक कृषि सहकारी संस्था लिमिटेडबाट ऋण लिएर व्यावसायिक गाईपालन सुरु गरेका थिए। यस व्यवसायबाट मासिक एक लाख रुपैयाँ आम्दानी भइरहेको गुरुङले बताए। उनको फार्मबाट दैनिक एक सय ५० लिटर दूध उत्पादन हुँदै आएको छ भने अब उनले दुई सय ५० लिटर दुध उत्पादन गर्ने सम्झौता गरिसकेका छन्। उत्पादित दूध उनले स्थानीय छथर जोरपाटी गाउँपालिका २ को जोरपाटी बजारमा रहेको कामधेनु संस्थाको चिस्यान केन्द्रमा बिक्री गर्दै आएका छन्। 

गुरुङले उन्नत जातका बाच्छाबाच्छी बिक्रीबाट पनि राम्रो आम्दानी गरिरहेका छन्। उनलाई श्रीमतीले पनि सघाउँछिन्। मासिक दश हजारका दरले पारिश्रमिक दिएर चार जना काम गर्ने मजदुर पनि राखेका छन्। उनको व्यवसाय देखेर छथर जोरपाटीका स्थानीय बासिन्दासमेत गाईपालनमा आकर्षित भएका छन्। पशुपालनमा प्रशस्तै आम्दानी हुन थालेको र स्थानीयस्तरमै दूध संकलन केन्द्र खुलेकाले पनि यसतर्फ कृषकको चासो बढेको गुरुङले बताए।

गुरुङजस्तै महालक्ष्मी नगरपालिका–९ मूर्तिढुंगाका भीमशंकर अधिकारी लामो समय विदेश बसे पनि राम्रो कमाउन सकेनन्। स्वेदश फर्केर केही गर्ने सोच बनाएर आएका उनले पनि गाईफर्म सञ्चालन गरेसँगै राम्रो आम्दानी गरिरहेका छन्। आधुनिक गाईफर्म सञ्चालन गर्ने हो भने स्वदेशमै राम्रो आम्दानी हुने उनको विश्वास छ।

गुरुङ र अधिकारी त उदहारण मात्रै हुन उनीहरुजस्ता २० भन्दा बढी युवा अहिले गाईपालन गरेर राम्रो आम्दानी गरिरहेका छन्। 'एनपीआर' हरियो घाँस र अम्लीसो तथा डाले घाँस प्रशस्त मात्रामा पाइने यस क्षेत्रमा लोकेन्द्र काफ्ले, मेघेन्द्र गुरुङ, इन्द्रबहादुर खडका लगायतका स्थानीय कृषकले व्यावसायिक रूपमा गाईपालन गरी राम्रो आम्दानी लिइरहेका छन्। 

गाईफार्मसँगै गाइको गोबरबाट 'अर्गानिक' सब्जी खेती गर्न तथा खाना पकाउन ग्यास निकाल्न सकिने भएकोले पनि यो पेशाप्रति युवाको आकर्षण बढेको हो।वैदेशिक रोजगारीको नामै सुन्न नचाहने उनीहरू  राज्यस्तरबाट भने आफूहरूले प्रोत्साहन नपाएको गुनासो गर्छन्। आफूले उत्पादन गरेका वस्तुहरू सहज रूपमा बजारमा लैजान नपाएको उनीहरूको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.