|

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा थप ९ जनाको नाम सिफारिस गरेको छ। 

कांग्रेसको तर्फबाट बुधबार मन्त्री हुनेहरुमा पार्टी भित्रकै संस्थापन पक्षधरका धेरै छन्। सभापति देउवाले आफू निकटका चार जना अर्जुननरसिंह केसी, बालकृष्ण खाँड, डा. प्रकाशशरण महत र जीवनबहादुर शाहीलाई मन्त्रीमा सिफारिस गरेका छन्।

कांग्रेस उच्च स्रोतका अनुसार केसीलाई शिक्षा, खाँडलाई रक्षा, डा. महतलाई परराष्ट्र र शाहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिन सिफारिस गरिएको छ। सभापति देउवा पक्षधरकै विमलेन्द्र निधिले उपप्रधानमन्त्रीसहित गृह र रमेश लेखकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी पाईसकेका छन्।

त्यस्तै, नेता रामचन्द्र पौडेलले कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, बलबहादुर केसी* र दीपक गिरीलाई मन्त्री बनाउन सिफारिस गरेका छन्।

कोषाध्यक्ष यादव र जोशी मन्त्री हुने निश्चित भएपनि केसी र गिरीमध्ये कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने टुंगोमा देउवा पुगेका छैनन्। कोषाध्यक्ष यादव र जोशीमध्ये एकलाई शान्ति तथा पुनर्निर्माण र ढुंगानालाई सामान्य प्रशासन मन्त्रालय दिने तयारी भएको बुढानिलकण्ठ स्रोतले बतायो।

नेता कृष्णप्रसाद सिटौलाको सिफारिसमा केन्द्रीय सदस्य गगन थापा मन्त्री हुने पक्का छ। थापालाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। 

प्रभावशाली नेता खुमबहादुर खड्काको सिफारिस शंकर भण्डारीलाई भएपनि उनलाई आजै सपथ खुवाउने वा नखुवाउने भन्ने निश्चित भएको छैन्। बाँकी एउटा मन्त्रालयमा आफ्नै, पौडेल, सिटौला वा खड्कामध्ये कुनै एक समूहको सिफारिसमा मन्त्री पठाउनेगरी जगेडा राखिएको छ। 
 
कांग्रेस–माओवादी समिकरणको समर्थनमा एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा निर्वाचित भएपछि गत साउन २० गते सपथ लिएका थिए। कांग्रेसले नेविसंघको महाधिवेशन भन्दै मन्त्रीपरिषद्मा आफ्नो दलको तर्फबाट थप सदस्यको नाम पठाएको थिएन्।

* यसअघि पौडेल पक्षले आनन्दप्रसाद ढुंगानालाई मन्त्रीमा सिफारिस गरेपनि अन्तिम अवस्थामा बलबहादुर केसीलाई सिफारिस गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.