|

विराटनगर : नेकपा एमाले, माओवादी केन्द्रबीच वाम गठबन्धन र नेपाली कांग्रेस नेतृत्वमा बन्न लागेको अर्को गठबन्धनको कारण आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन रोमाञ्चक हुने देखिएको छ।

पार्टी एकीकरणसहितको सहमति गर्दै वाम गठबन्धन निर्माण भइसकेको अवस्थामा दुई राप्रपा र मधेस केन्द्रित दललाई समेटेर अर्को गठबन्धन बनाई निर्वाचनमा जाने तयारीमा कांग्रेस रहेको छ।

दुई गठबन्धन चुनावमा सहभागी हुने भएपछि मोरङका ६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १२ प्रदेशसभा निर्वाचन क्षेत्रको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। यसअघि निर्वाचन क्षेत्र निर्धारण आयोगले मोरङमा ३ नम्बर क्षेत्र बाहेक अन्य क्षेत्र नेपाली कांग्रेसको अनुकुल हुने गरी निर्धारण गरेको भन्दै आलोचना भइरहेको बेला गठबन्धनपछि फरक अवस्था देखिएको छ।

मंसिर २१ गते हुने निर्वाचनको लागि दलहरुले तयारी सुरु गरी उम्मेदवार सिफारिस गरे पनि गठबन्धनको सिट बाँडफाँट भने भइसकेको छैन। जसले गर्दा कुन क्षेत्रमा कुन पार्टीका उम्मेदवार बन्छन् भन्ने यकिन हुन अझै केही दिन लाग्नेछ। तर, वाम गठबन्धन बनिसकेको र कांग्रेसको नेतृत्वमा अर्को गठबन्धनको पहल भइरहेकोले निर्वाचनमा मुख्यतः २ गठबन्धनबीच नै प्रतिस्पर्धा हुने देखिएको छ।

नेपाली कांग्रेसका तत्कालिन सभापतिहरु विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको गृहनगर मोरङको विराटनगर नै भएकाले यो जिल्लामा नेपाली कांग्रेस बलियो मानिन्छ। तर यसपटक नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर चुनाव लड्ने भएकाले केही क्षेत्रमा कांग्रेस कमजोर देखिएको छ।

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मतलाई पार्टीको आधिकारिक मत मान्दा वाम गठबन्धन जिल्लामा हाबी हुने देखिएको छ। वाम गठबन्धन इतरका शक्तिहरु सबै एक ठाउँ उभिए पनि जिल्लामा ३ देखि ४ क्षेत्र वाम गठबन्धनले सहजै जित्ने निश्चित देखिएको छ।

मोरङको क्षेत्र नम्बर १ मा गत स्थानीय तहको निर्वाचनमा ३७ वडाका एमाले उम्मेदवारले २४ हजार २ सय ८ मत, नेपाली कांग्रेसका उम्मेदवारले २३ हजार ६ सय २६ मत र माओवादी केन्द्रका उम्मेदवारले ८ हजार ९ सय ६२ मत प्राप्त गरेका थिए। अब वाम गठबन्धनको मत ३३ हजार १ सय ७१ पुगेको छ। जुन कांग्रेसको मतभन्दा करिब १० हजार बढी हो। सो क्षेत्रमा कांग्रेसको गठबन्धनमा सामेल हुने भनिएका राप्रपासँग झिनो मत बाहेक अन्य दलको मत छैन।

जिल्लाको पूर्वी दक्षिणी क्षेत्र समेटिएको क्षेत्र नम्बर २ का २९ वडामा नेपाली कांग्रेसको २२ हजार ३ सय ५०, एमालेले १९ हजार ४१  र माओवादी केन्द्रको ११ हजार २ सय ३२ मत थियो। वाम गठबन्धनको मत ३० हजार २ सय ७३ पुग्छ। जुन कांग्रेसको भन्दा करिब ८ हजार बढी हो। सो क्षेत्रमा संघीय समाजवादी फोरमको केही मत भए पनि उसले कांग्रेसको गठबन्धनमा सहभागी हुने संभावना कम छ।

जिल्लाको क्षेत्र नम्बर ३ यसअघि नै नेकपा एमाले बलियो रहेको वडा हो। सो क्षेत्रका २६ वडामा एमालेले २९ हजार १ सय ६२, कांग्रेसले २१ हजार ८७ र माओवादीले १३ हजार ४ सय ९५ मत पाएका थिए। अब वाम गठबन्धनको मत ४२ हजार ६ सय ७५ पुगेर कांग्रेसभन्दा २१ हजार बढीको मतान्तर पुगेको छ। सो क्षेत्रमा राप्रपाको मत पनि हजारभन्दा कम छ।

विराटनगर महानगरपालिका जोडिएका जिल्लाका ४, ५ र ६ नम्बर क्षेत्रमा भने मधेस केन्द्रित दलको मत पनि राम्रो रहेको छ। खासगरी क्षेत्र नम्बर ५ मा संघीय समाजवादी फोरमको र ४ तथा ६ मा फोरम लोकतान्त्रिकको मत छ। फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा समाहित भइसकेकोले यी क्षेत्रमा कांग्रेस बलियो देखिएको छ। संघीय समाजवादीसँग पनि कांग्रेसको गठबन्धन भएमा ५ नम्बर क्षेत्रमा पनि बलियो बन्नेछ।

विराटनगर महानगरपालिकासहित आसपासका २३ वडा रहेको क्षेत्र नम्बर ४ मा स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको १७ हजार ७ सय ११, एमालेको १६ हजार ६ सय ४४, लोकतान्त्रिक फोरमको ७ हजार ४ सय ९६ र माओवादी केन्द्रको ६ हजार ४ सय ६१ मत थियो। वाम गठबन्धनको मत २३ हजार १ सय ५ पुगेको छ भने कांग्रेस गठबन्धनको २५ हजार २ सय ७ मतसहित करिब २ हजार मतको अग्रतामा रहनेछ। यसमा राप्रपाको केही मत थपिनेछ।

क्षेत्र नम्बर ५ का २४ वडामा कांग्रेसको १३ हजार ३ सय ६९, संघीय समाजवादी फोरमको १२ हजार ९ सय ५४, माओवादी केन्द्रको १० हजार ९ सय ८१, एमालेको ८ हजार ९ सय ७९ र फोरम लोकतान्त्रिकको ३ हजार मत छ। सो क्षेत्रमा वाम गठबन्धनको मत १९ हजार ९ सय ६० पुगेको छ भने कांग्रेस र लोकतान्त्रिकको मत १६ हजार छ। सो क्षेत्रमा संघीय समाजवादी फोरमको कांग्रेसँसग गठबन्धन नभए वाम गठबन्धन नै बलियो बन्ने देखिएको छ।

जिल्लाको क्षेत्र नम्बर ६ का २० वडामा कांग्रेसको २० हजार ९ सय ४०, एमालेको १७ हजार ९ सय ८२, माओवादी केन्द्रको ८ हजार ३ सय ९८, फोरम लोकतान्त्रिकको ८ हजार ४८ र संघीय समाजवादी फोरमको ५ हजार ३ सय २८ मत छ। सो क्षेत्रमा वाम गठबन्धनको मत २६ हजार ३ सय ८० तथा कांग्रेस–लोकतान्त्रिक फोरम गठबन्धनको २८ हजार ९ सय ८८ मत हुन्छ। सो क्षेत्रमा पनि करिब १५ सय मत राप्रपाको रहेको छ।

गत स्थानीय तहको मत परिणामलाई आधार मान्दा जिल्लामा वाम गठबन्धन इतरका सबै शक्तिबीच तालमेल भए पनि १, २ र ३ नम्बर क्षेत्रमा वाम गठबन्धन नै बलियो बन्ने देखिएको छ। सो अवस्थामा ४ र ६ मा कांग्रेस गठबन्धन बलियो बन्ने र ५ मा प्रतिस्पर्धा हुने देखिन्छ। तर, कांग्रेससँग संघीय समाजवादी फोरमको गठबन्धन नभएमा ५ नम्बर क्षेत्रमा पनि वाम गठबन्धन नै बलियो बन्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.