|

विराटनगर : वाम गठबन्धनले मोरङका ६ वटा प्रतिनिधिसभा र १२ वटा प्रदेशसभाका लागि सिट बाँडफाँटमा सहमति गरेका छन्। सहमतिअनुसार एमालेले ४ प्रतिनिधिसभा र ६ प्रदेशसभा पाउने भएको छ भने माओवादी केन्द्रले २ प्रतिनिधिसभा र ६ वटा प्रदेशसभा पाउने सहमति भएको छ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शिवकुमार मण्डलका अनुसार प्रतिनिधिसभा अन्तर्गत ४ र ५ नम्बर क्षेत्रमा माओवादी केन्द्रलाई एमालेले सघाउने छ भने १, २, ३ र ६ नम्बर क्षेत्रमा एमालेलाई माओवादी केन्द्रले सघाउनेछ।

यस्तै प्रदेशमा क्षेत्र नम्बर १, २, ३, ४ र ६ को क तथा क्षेत्र नम्बर ५ को ख  माओवादी केन्द्रले लिने सहमति भएको छ। एमालेले भने ५ नम्बर क्षेत्रको क र अन्य क्षेत्रको ख निर्वाचन क्षेत्र लिने भएको छ।

मोरङमा माओवादी उम्मेदवारको टुंगो

सिट बाँडफाँट टुंगो लागेसँगै माओवादी केन्द्रले जिल्लामा उम्मेदवार पनि टुंगो लगाएको छ। माओवादी नेता मण्डलका अनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं. ४ मा नेता सावित्रीकुमार काफ्ले र क्षेत्र नं. ५ मा शिवकुमार मण्डलको नाम टुंगो लागेको छ।

यस्तै प्रदेशसभातर्फ क्षेत्र नं. १ को क कुलप्रसाद साम्बा (कुशल लिम्बू), क्षेत्र नं. २ को क गणेश उप्रेती (सुशील), क्षेत्र नं. ३ को क गीता तिम्सिना, क्षेत्र नं. ४ को क विजय विश्वास थारु, क्षेत्र नं. ५ को ख टुंगो लाग्न बाँकी छ भने क्षेत्र नं. ६ को क मा जीवन आचार्य उम्मेदवार बन्ने पक्का भएको छ।

एमालेमा छलफल जारी

यता नेकपा एमालेले भने उम्मेदवारको टुंगो लगाइनसकेको जनाएको छ। सिटको बाँडफाँट भर्खरै सकिएकोले सोमबारसम्ममा उम्मेदवारको टुंगो लाग्ने एमालेका जिल्ला अध्यक्ष विनोद ढकालले बताए। ‘भर्खर सिट बाँडफाँट टुंगिएको छ,’ ढकालले भने, ‘भोलिसम्ममा उम्मेदवारको पनि टुंगो लगाउँछौं।’

एमालेले प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ मा टुंगो नलगाए पनि क्षेत्र नम्बर २ बाट ऋषिकेश पोखरेल, ३ बाट भानुभक्त ढकाल र ६ बाट लालबाबु पण्डितको नाम टुंगो लगाइसकेको स्रोतले बताएको छ। यस्तै क्षेत्र नम्बर १ मा भने घनश्याम खतिवडा, रुपेश खतिवडा र शिवमाया तुम्वाहाम्फेमध्ये एक जना उम्मेदवार बन्न सक्ने एमाले स्रोतले जनाएको छ। प्रदेशसभाका लागि भने आकांक्षी धेरै भएका कारण एमालेलाई उम्मेदवार टुंगो लगाउन हम्मेहम्मे परको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.