|

सिन्धुपाल्चोक : १० मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा चुनावी चहलपहल बढेको छ। प्रतिनिधिसभाका ‘हेभिवेट’ नेताको उम्मेदवारीले गर्दा सिन्धुपाल्चोकमा चुनावी रौनक अझ बढेको हो।

प्रतिनिधिसभा १ मा वाम गठबन्धनबाट पूर्वसूचना तथा सञ्चारमन्त्री अग्निप्रसाद सापकोटा र कांग्रेसको तर्फबाट बहालवाला सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत चुनावी मैदानमा उत्रेका छन्। यस्तै, प्रतिनिधिसभा २ पशुपतिशमशेर राणा र शेरबहादुर तामाङको उम्मेदवारीले उस्तै चर्चाको विषय बनेको छ।

प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नम्बर १ मा परेको स्थानीय तहमा जुगल, बलेफी, सुनकोसी, त्रिपुरासुन्दरी, लिशंखुपाखर, भोटेकोसी गाउँपालिका, बाह्रबिसे र चौतारा साँगाचोकगढी नगरपालिकाको २,३,४,९,१० नम्बर वडाहरु समेटिएका छन्।

जसमा जुगल, बलेफी, त्रिपुरासुन्दरी गाउँपालिका र कांग्रेसको पकेट क्षेत्र मानिएको बाह्रबिसे नगरपालिकामा एमालेले जितेको थियो। भोटेकासी र चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादीले जितेको थियो। कांग्रेसले जितेको यस क्षेत्रमा सुनकोसी गाउँपालिका मात्र हो। यस क्षेत्रमा पनि स्थानीय तहको मतलाई नियाल्दा कांग्रेस वाम गठबन्धनभन्दा धेरै मतान्तरले पछाडि  छ।

सापकोटा र बस्नेतको पहिलो भिडन्त

बस्नेत छैटौँपटक र सापकोटा चौथौपटक चुनावी युद्धमा उत्रेका भए पनि पूर्वसञ्चारमन्त्री अग्निप्रसाद सापकोटा र बहालबाल सञ्चारमन्त्री मोहन बस्नेतको यो पहिलो भेट हो। बस्नेत राप्रपाको समर्थनमा कांग्रेसबाट यसपटकको चुनावमा आफ्नो छैटौं सफलता पार्ने दाबी गरिरहेका छन्।

‘यसपटक बस्नेतको जित सुनिश्चित छ’ नेपाली कांग्रेसका क्षेत्रीय सभापति टंकबहादुर कार्कीले भने, ‘सापकोटालाई एमालेको भर छ। सबै एमाले कार्यकर्ताले भोट नहाल्न पनि सक्छन्। यो क्षेत्र बस्नेतको पकेट क्षेत्र हो। त्यसैले जित पक्का छ।’

सापकोटाले पनि एमालेको राम्रो साथ पाएकाले आफ्नो जित निश्चित रहेको दाबी गरेका छन्। स्थानीय तहको मत जोडेर हेर्दा सापकोटा अगाडि देखिए पनि सापकोटा र बस्नेतबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा १ लाख १४ हजार मतदाता छन्।

स्थानीय निर्वाचनमा यस्तो थियो मतको लेखाजोखा

स्थानीय निर्वाचनको मतअनुसार नेपाली कांग्रेसको जनाधार भएको बाह्रबीसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा पनि वाम गठबन्धन मिल्दा कांग्रेस धेरै पछाडि देखिन्छ। स्थानीय तह निर्वाचनमा बाह्रबीसे नगरपालिकामा वाम  गठबन्धनको ७ हजार ६ सय ८५ र कांग्रेसको ४ हजार ७ सय ११ मत आएको थियो। भोटेकोसी गाउँपालिकामा वाम गठबन्धनको ४ हजार २ सय २१ र कांग्रेसको २ हजार ४ सय २५ मत मात्र छ।

त्रिपुरासुन्दरी गाउँपालिकामा वाम गठबन्धनको ४ हजार ५ सय २६ र कांग्रेसको २ हजार ७ सय ७ मत, लिशंखुपाखरमा वाम गठबन्धनको ५ हजार २ सय ९२ र कांग्रेसको २ हजार २६ मत, सुनकोसीमा वाम गठबन्धनको ५ हजार ६ सय ४ र कांग्रेसको ४ हजार ३ सय ६०, बलेफीमा वाम गठबन्धनको ६ हजार २ सय ८८ र कांग्रेसको २ हजार ५ सय ४६ मत आएको थियो।

यस क्षेत्रमा स्थानीय तहको कुल मतलाई नियाल्दा कांग्रेस र राप्रपा प्रजातान्त्रिक गठबन्धन भन्दा  वाम गठबन्धन २० हजार ८ सय ४९ मतले अगाडि छ। वाम गठबन्धनकाको ४३ हजार ७ सय ९८ मत रहेको छ भने कांग्रेस र राप्रपा प्रजातान्त्रिकको कुल मत जोड्दा २२ हजार ९ सय ४९ मत मात्र छ।

सापकोटा र बस्नेतको यस्तो छ चुनावी इतिहास

माओवादी सशस्त्र विद्रोहको सुरुआत हुनुअघि ०४८ मा सम्पन्न संसदीय निर्वाचनमा निर्वाचन क्षेत्र न २ मा संयुक्त जनमोर्चाबाट उम्मेदवार भएका नेता सापकोटा अहिले चौथोपटक चुनावी युद्धमा उत्रेका छन्। यसअघिका ३ चुनावमा २ पटक जित र एकपटक पराजय बेहोरेका थिए सापकोटाले। बस्नेत अहिलेसम्म छैटौंपटक चुनावी मैदानमा छन्।

सापकोटा ०४८ को आम निर्वाचनमा ४ हजार ५ सय मत ल्याएर एमालेका कृष्णराज श्रेष्ठसँग पराजित भएका थिए। उनले ०६४ को संविधानसभाको क्षेत्र न २ चुनावमा ३१ हजार एकसय ३६ मत ल्याएर जिते। प्रतिद्वन्द्वी एमालेका सुवास कर्माचार्यको १० हजार २५ मत थियो। दोस्रो संविधानसभाको चुनावमा क्षेत्र न २ मा सापकोटाले प्रतिद्वन्द्वी कर्माचार्यभन्दा ८ सय ५० मत बढी ल्याएर विजयी भएका थिए। 

यस्तै, ०४८ सालको संसदीय चुनावमा बस्नेतले १ हजार ६ सय ११ को मतान्तरले एमालेका अमृत बोहोरासँग हारेका थिए। बस्नेतको ११ हजार ९ सय ७२, बोहोराले १३ हजार ५ सय ८३  र राप्रपाका पशुपति शमशेर राणाले ५ हजार ३ सय १४ मत ल्याएका थिए।

०५६ को संसदीय चुनावमा बस्नेत १९ हजार १ सय ६८ मतले विजयी भएका थिए। चुनावमा एमालेका अमृतकुमार बोहोराको १५ हजार ९ सय ५६ र राप्रपाका पशुपतिशमशेरको १० हजार ९८ मत थियो।

त्यसैगरी, ०६४ को संविधानसभाको चुनावमा माओवादीका राजेन्द्रकुमार श्रेष्ठसँग बस्नेत पराजित भएका थिए। बस्नेतले ७ हजार ६ सय ७१ मत ल्याएका थिए भने माओवादीका श्रेष्ठले २१ हजार ३ सय २० मत ल्याएर जिते। पहिलो संविधानसभा निर्वाचनमा हारेका बस्नेत दोस्रो संविधानसभा निर्वाचनमा एमाले उम्मेदवार अरुण नेपाललाई ३२ मतले पराजित गर्दै विजयी भए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.