|

गोरखा : १० मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा अतिसंवेदनशील क्षेत्र घोषणा गरिएको गोरखा क्षेत्र नं. २ को सुरक्षा व्यवस्था सुदृढ बनाउन पालुङटारमा सुरक्षा बेसक्याम्प राख्न तयारी थालिएको छ।

बुधबारदेखि नै सुरक्षा बेसक्याम्पमा सशस्त्र प्रहरीको टोली रहनेगरी तयारी थालिएको हो। क्षेत्रीय सुरक्षा समितिको निर्णयअनुसार बुधबारदेखि पालुङटारमा निर्वाचन सुरक्षा बेस राख्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले जानकारी दिए।

सुरक्षा अवस्थाको जानकारी लिन मंगलबार क्षेत्रीय सुरक्षा समितिको टोली मंगलबार गोरखा आएको थियो। समितिका संयोजक तथा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल नेतृत्वको टिम गोरखा आएको थियो।

सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस सहितको समर्थनमा नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र वाम एकतापछि एमाले लगायतका दलहरुको समर्थनमा एमाओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन्।

जिल्ला सुरक्षा समितिले निर्वाचन सामग्रीको सुरक्षित ढुवानीका लागि हेलिकोप्टरबाट ढुवानीको प्रबन्ध मिलाउन सहजीकरण गर्न क्षेत्रीय सुरक्षा समितिलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।

गोरखाको दुर्गमका साबिकका करिब १४ गाविसमा सडक सञ्जालले जोडिएका छैनन्। चुमनुब्री गाउँपालिकाका सात र धार्चे गाउँपालिकाका साबिकका चार गाविसमा सडक सञ्जाल छैन। गुम्दा, लाप्राक जस्ता गाविसमा सडक पुगे पनि बर्खामा बिग्रिएको सडकमा अझै सकुशल गाडी चल्न सकेका छैनन्।

त्यस्तै, निर्वाचनका लागि आउने सुरक्षाकर्मी छिटो आउने व्यवस्था मिलाउन पनि अनुरोध गरिएको प्रजिअ बस्नेतले बताए। गोरखामा आगामी निर्वाचनमा ६८ वटा मतदान केन्द्रहरु सुरक्षाका हिसाबले अति संवेदनशीलको सूचीमा रहेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.