|

काठमाडौं: दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। बुधबार आयोगले पत्रकार सम्मेलन गर्दै मनोनयनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

४५ जिल्लामा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार बिहान १० बजेबाट ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले बताए। दोस्रो चरणमा हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रमा मनोनयन दर्ता हुने उनले बताए।

उनले भने, ‘मनोनयन दर्तालाई शान्तिपूर्ण बनाउन सरकारले सुरक्षा निकायलाई चुस्तदुरुस्त रूपमा परिचालन गरेको छ। मनोनयन दर्ता शान्तिपूर्ण हुनेमा हामी विश्वस्त छौँ।’ यस पटक राजनीतिक दलका पार्टी प्रमुख तथा उच्च पदाधिकारी मनोनयन दर्तामा सहभागी हुने भएकाले सुरक्षा निकायलाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन प्रमुख आयुक्त डा. यादवले निर्देशन दिए।

पत्रकार सम्मेलनमा डा. यादवले निर्वाचनका लागि मतदाता नामवली छपाइ कार्य सम्पन्न भएको जानकारी पनि दिए। ‘मतदाता नमावली छपाइ कार्य सम्पन्न भएको छ। अहिले धमाधम मतपत्र छपाइको काम भइरहेको छ',उनले भने, 'समानुपातिक निर्वाचन प्रणालीतर्फको ७४ लाख मतपत्र छपाउने काम सम्पन्न भएको छ।’

सर्वोच्च अदालतको निर्देशनबमोजिम प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपत्र छाप्ने काम भइरहेको यादवले बताए। उनले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा कात्तिक २० गतेभित्र मतपत्र पुर्‍याइसकिने जानकारीसमेत दिए। प्रतिनिधिसभाको निर्वाचनमा हरियो रङमा निर्वाचन चिह्न भएको मतपत्र र प्रदेशसभाका लागि कालो मसीमा निर्वाचन चिह्न भएको मतपत्र हुने उनले बताए। 

डा. यादवले मतदाता शिक्षा कार्यक्रम पनि तत्काल सञ्चालन गरिने जानकारी दिए। उनले भने, ‘सम्मानित सर्वोच अदालतको आदेशअनुसार परिमार्जन तथा संशोधन गर्नुपर्ने निमावली, निर्देशिका परिमार्जनको काम भइरहेको छ। आवश्यक निर्वाचन सामग्री तथा स्वस्तिक छापलगायतका निर्वाचन सामग्रीको व्यवस्थापनको काम भइरहेको छ।' उनले नियमवली र निर्देशिका परिमार्जन गरी सोहीअनुसार मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले मतदाता शिक्षासम्बन्धी तालिम, प्रशिक्षण कार्यक्रम गर्न अायोगले गृहकार्य गरिरहेको पनि बताए।

'आयोगले स्वीकृत गरेको मतदाता शिक्षासम्बन्धी कार्यतालिकामा परिमार्जन गरी मतदाता शिक्षा कार्यक्रम अघि बढाइएको छ’, उनले भने।

पत्रकार सम्मेलनमा डा. यादवले फोटो सहिताको मतदाता नमवलीमा नाम समावेश भएका तर निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी लगायतको मतअधिकार सुरक्षित गर्न अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति बनाएको बताए। प्रतिनिधि र प्रदेशसभाका लागि समानुपातिक सदस्यको बन्दसूची आयोगमा पेश भएको र १७ गते सार्वजनिक गर्ने कार्यक्रम रहेको उनले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.