|
लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार सुनिलबहादुर थापा

धनकुटा : दोस्रो चरणमा मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा प्रमुख राजनीतिक दलले उम्मेदवारको टुंगो लगाएका छन्।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको धनकुटामा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार रहने भएका छन्।

वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि राजेन्द्र राईलाई उम्मेदवार बनाइएको छ। उनी एमाले धनकुटाका अध्यक्ष हुन्। यस्तै प्रदेश सभाअन्तर्गत क्षेत्र नं. १ बाट निरन राई र क्षेत्र नं २ बाट इन्द्रमणि पराजुलीलाई उम्मेदवार छनोट गरिएको एमाले धनकुटाले जनाएको छ।

राई एमाले धनकुटाका उपसचिव हुन भने पराजुली एमाले १ नम्बर प्रदेश कमिटी सल्लाहकार सदस्य हुन्। यसैगरी कांग्रेसले राप्रपा प्रजातान्त्रिक र संघीय समाजवादी फोरमसँग गठबन्धन लोकतान्त्रिक गठबन्धन निर्माण गरेर उम्मेदवारको टुंगो लगाएको छ। प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनबाट वर्तमान उद्योगमन्त्री सुनिलबहादुर थापालाई उम्मेदवार बनाइएको छ।

थापा राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य हुन पनि हुन्। त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नं १ बाट कांग्रेसका मनोहरनारायण श्रेष्ठले उम्मेदवारी दिने टुंगो लागे पनि प्रदेशको क्षेत्र नं. २ का लागि संघीय समाजवादी फोरमसँग कुरा मिल्न बाँकी रहेको  कांग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेलले जानकारी दिए। श्रेष्ठ कांग्रेस धनकुटाका पूर्वसभापति तथा निवर्तमान सांसद हुन्।

यता संघीय समाजवादी फोरमले प्रदेशको क्षेत्र २ मा अर्जुन थापालाई उम्मेदवार छनोट गरिसकेको छ। केही सैद्धान्तिक कुरा मिल्न मात्रै बाँकी रहेको बताइएको छ। अर्जुन थापा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य हुन्। दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बिहीबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.