|

कपिलवस्तु : जिल्लामा नेपाली कांग्रेसका ७ जना नेताले बागी उम्मेदवारी दिएका छन्। मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरणमा असन्तुष्ट कांग्रेस नेताले स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

पार्टी सभापति शेरबहादुर देउवा पक्षले गुटबन्दी गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पक्षकाले बागी उम्मेदवारी दिएका हुन्। अन्तिम समयमा आफ्नो नाम प्रदेश सभा उम्मेदवारबाट हटाएपछि आक्रोशित बनेका क्षेत्र नं. ३ का सभापति अकिल मियाले निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।

त्यहाँ एक महिनाअघि मात्र राप्रपाबाट कांग्रेस प्रवेश गरेका अजय थापालाई कांग्रेसले टिकट दिएको छ। प्रदेश ३ को २ मा टिकट पाउने ग्यारेन्टीसहित कांग्रेस प्रवेश गरेका जानकी यादवले पनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएकी छन्। बिहीबार विहान ८ बजे उनको नाम काटेर वीरेन्द्र कनौडियालाई कांग्रेसले टिकट दिएको थियो।

नेपाली कांग्रेसका पूर्व उपसभापति तथा महासमिति सदस्य राजुप्रसाद अर्यालले पनि क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। पटक–पटक उम्मेदवार बनेर पराजित सुधारक पाण्डेलाई उम्मेदवार बनाएको भन्दै असन्तुष्ट बनेका अर्यालले बागी उम्मेदवारी दिएका हुन्।

'पाण्डेलाई कांग्रेस सभापति सुरेन्द्रराज आचार्यले जबर्जस्ती टिकट दिएपछि मैले कार्यकर्ताको माग र दबाब अनुसार उम्मेदवारी दिन बाध्य भएको हुँ' उनले भने। यसैगरी क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा तरुण दलका केन्द्रीय सदस्य लोकन्द्र खाँडले पनि स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। अन्तिम समयमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ मा जवाहर थारुलाई टिकट दिएपछि असन्तुष्ट बनेका खाँडले त्यहाँका कांग्रेस उम्मेदवार तथा जिल्ला सभापति सुरेन्द्र आचार्यविरुद्ध दलबलका साथ उम्मेदवारी दिएका हुन्।

यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न सफल भएका भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायविरुद्ध पनि कांग्रेसका चर्चित नेता दुर्गा सेनले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। संगठनमा इमान्दार कार्यकर्ता भन्दा पनि गुटबन्दी गरेर पार्टीलाई नै धरासायी बनाएको भन्दै उनले उपाध्यायविरुद्ध बागी उम्मेदवारी दिएका हुन्।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेशसभा क्षेत्र नम्बर २ मा पनि कांग्रेसले देउवा पक्षका राजेश आचार्यलाई उम्मेदवार बनाएपछि युवा नेता अमित पाण्डेले स्वतन्त्र उम्मेदवारी मनोनयन गराएका छन्। कांग्रेसमा ७ जनाविरुद्ध बागी उम्मेदवारी परेपछि कपिलवस्तुमा कांग्रेसका उम्मेदवार तथा कार्यकर्ताहरु चिन्तित बनेका छन्।

वाम गठबन्धनले चुनौती थपेको अवस्थामा टिकट नपाएर असन्तुष्ट बनेकाहरुले धमाधम उम्मेदवारी दिएपछि कांग्रेसको जितमा चुनौती थपिएको छ। तीनवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा दल तथा स्वतन्त्र उम्मेदवार गरी ५६ जनाले उम्मेदवारी मनोनयन गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्र तर्फ दल तथा स्वतन्त्र गरी १३० जनाले उम्मेदवारी दिएका छन्।

मुख्य राजनीतिक दलका उम्मेदवारहरुले सवारी साधन तथा अन्य सुविधा लिनका लागि स्वतन्त्र उम्मेदवार खडा गरेको भएकाले संख्या बढेको हुनसक्ने निर्वाचन कार्यालयका एक कर्मचारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.