|

उदयपुरः उदयपुरमा बिहीबार भएको उम्मेदवारी मनोनयन दर्तामा चार जना मात्र महिला परेका छन्। 

मुख्य निर्वाचन कार्यालयका अनुसार उदयपुरका दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा ६२ जनाको उम्मेदवारी परेकामा चार जना मात्र महिला उम्मेदवारले मनोनयनपत्र दर्ता गरेका हुन्।

कार्यालयका अनुसार पूर्व शहरी विकास राज्यमन्त्री मन्जुकुमारी चौधरीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र– १ बाट उम्मेदवारी दिएकी छन्। चौधरी ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पुरानो निर्वाचन क्षेत्र नम्बर– २ बाट विजयी भएकी थिइन्। 

यसैगरी निर्वाचन कार्यकालयका मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माका अनुसार वाम गठबन्धनकै नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.– २ मा पर्ने सुनकोसी, उदयपुरगढी र रौतामाई गाउँपालिकाको प्रदेशसभामा भेषकुमारी राउतले उम्मेदवारी मनोनयन दर्ता गरेकी छन्। राउत ०७० सालको निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिबाट सांसद बनेकी थिइन्। 

प्रतिनिधिसभा क्षेत्र नं.– २ मा पर्ने ताप्ली गाउँपालिका र कटारी नगरपालिका प्रदेशसभाका लागि  वाम गठबन्धनबाट एमालेकी नेत्री कला घलेले उम्मेदवारी मनोनयन दर्ता गरेकी छन्। 

यता, राप्रपा (प्रजातान्त्रिक) बाट नेत्री माला तामाङको उम्मेदवारी दर्ता भएको अधिकृत शर्माले बताए। ‘उम्मेदवार मनोनयन गर्ने अधिकांश पुरुष छन’, उनले भने, ‘महिलाको उल्लेख्य सहभागिता भने पाइएको छैन।’

मुख्य निर्वाचन अधिकृत शर्माका अनुसार उदयपुरमा विभिन्न १६ राजनीतिक दल र छ जना स्वतन्त्रबाट उम्मेदवारी मनोनयन दर्ता भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.