|

डडेल्धुरा : स्थानीय भाषामा ‘देहिजात’ नामले परिचित सुदूरपश्चिमको उग्रतारा भगवती मेला सम्पन्न भएको छ। बिहीबार साँझ सुरु भएको मेला शुक्रबार बेलुकी सम्पन्न भएको हो ।  

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। ‘खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आइ दिउसेडी मेला सुरु भएको थियो। 

देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेला भर्न सुदूरपश्चिम, मध्यपश्चिम तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु आएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए। ‘यो वर्ष पनि हजारौंको संख्यामा श्रद्धालुभक्तजनाले मेला भरे’ उनले भने।

डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुग्छन्। ‘सुदूरपश्चिमका सबै जिल्लाको केन्द्रबिन्दुमा उग्रतारा मन्दिर छ’ मन्दिरका धामी कालुसिंह ओलीले भने, यहाँ आएर पूजाआजा गरे मनोकामनाको पूरा हुन्छ। त्यसैले यहाँ हरेका भक्तजनाको घुइँचो लाग्छ।’

किंवदन्ती अनुसार परापूर्वकालमा स्थानीय साँकी जातीका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो। सो रगतलाई आफूले खान ल्याएको खिचडीले टालेर रोकिएपछि देवी उत्पन्न भई दर्शन दिएको र स्थापना गरिएको विश्वासमा त्यसबेलादेखि कार्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेलालाग्ने स्थानीय डम्बर भण्डारी बताउँछन्।

देहिजाँतको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, सुदूरपश्चिमको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न सकिन्थ्यो। 

स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ। वर्षमा एक पटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुखप्राप्ति, मनोकामना पूरा हुने जनविश्वास रहेको छ। मेलाको अवसरमा यहाँ दर्शन गरे  भगवतीले रक्षा गर्ने र परिवारले सुख पाउने जनविश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.