|

चितवन : नेपालमै भएको स्रोतसाधन र प्रविधिको उच्चत्तम प्रयोग गरी उपचार चुस्त बनाउनुपर्ने निष्कर्षसहित चितवनमा भएको क्यान्सरसम्बन्धी विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। 

यही कात्तिक १६ गतेदेखि शुरु भएको तीनदिने सम्मेलनले बाह्य देशमा जस्तो उपचार पद्धति र प्रविधिको विकास नेपालमा नभएकाले भएका स्रोतसाधनलाई भरपुर उपयोग गरी उपचार सफल पार्नुपर्ने विज्ञहरुको सुझाव आएको सम्मेलन आयोजक समितिका सचिव डा उमेश नेपालले जानकारी दिए।

सम्मेलनमा विदेशी विज्ञहरुको २० वटा अनुसन्धानात्मक कार्यपत्रसहित ५० वटा सोधपत्र प्रस्तुत भई सो विषयमा छलफल भएको थियो। चितवनको क्यान्सर अस्पतालमा प्रयोग हुँदै आएको शल्यक्रिया पद्धतिको बारेमा समेत प्रविधिमार्फत विज्ञहरुले हलमै बसेर प्रत्यक्ष अवलोकनसमेत गरेका थिए। सार्क फेडेरेशन अफ अंकोलोजिष्ट नेपालको आयोजनामा भएको सम्मेलनको निष्कर्षलाई समीक्षा गरेर घोषणापत्रको रुपमा पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ। 

‘विश्वमा रोवर्टले उपचार गर्ने पद्धतिको विकास भइसकेको छ, त्यो नेपालमा सम्भव नै छैन, त्यसैले पनि यहाँ उपलव्ध साधनको प्रयोग गरेर नै उच्च सेवा दिनुपर्ने जरुरी छ, त्यसैमा सम्मेलन केन्द्रित भयो,’ डा. नेपालले भने। उनका अनुसार खाने नलिमा भएको क्यान्सरको उपचारको प्रक्रियामा भने केही हेरफेर गरिएको छ। अपरेशन, केमो र सेकाई लगभग धेरै जसो उपचारमा सँगसँगै जाने भएकाले कुन अघि कुन पछि भन्ने विषयमा विज्ञहरुको सुझाव अनुसार केही परिवर्तन गरिएको जनाइएको छ। 

पहिलो तह, दोस्रो तह, तेस्रो तहमा कसरी उपचार गर्ने भन्ने एक किसिमको खाका बनाइएको नेपालले बताए। सम्मेलनमा नेपालसहित भारत, चीन, श्रीलंका, बंगलादेश, सिंगापुर, क्यानडा, टर्की, र अमेरिकाका विशेषज्ञ गरी ३०० जनाको सहभागिता रहेको स्थानीय आयोजक समितिका संयोजक डा भोला रौनियारले बताए।

सम्मेलनमा देशविदेशमा क्यान्सर रोगको उपचार पद्धतिको विषयमा र विश्वमा भएका नयाँ उपचार प्रविधिको बारेमा जानकारी आदानप्रदान भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.