|

लहान : आगामी मंसिर २१ गते हुने प्रदेश र प्रनितिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेपछि सिरहाका राजनीतिक दलहरु चुनाव प्रचास प्रसारमा सक्रिय भएका छन्।

सिरहाका चारमध्ये क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट नेकपा एमालेका केन्द्रीय सदस्य गंगाप्रसाद यादव, नेपाली कांग्रेसमा वौद्धिक नेता केन्द्रीय सदस्य प्रदिप गिरि तथा संघीय समाजवादी फोरम नेपालबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री राजलाल यादव लगायत उम्मेदवार छन्।

चुनावमा गिरि र उनकै छिमेकी रहेका गठबन्धनका यादवबीच नै टक्कर पर्ने अनुमान गरिएको छ। २०६४ र २०७० सालमा भएको संविधानसभा निर्वाचनमा समानुपातिक सभासद बनेका गिरि २०५१ को मध्यावधि निर्वाचनमा सिरहाको क्षेत्र नम्बर ५ बाट प्रधिनिधिसभामा निर्वाचित भएका थिए। मधेसको मुद्दालाई संस्थागत गर्न आफूले  उम्मेदवारी दिएको गिरि बताउँछन्।

पञ्चायती व्यवस्थामा २०४३ सालको स्थानीय निर्वाचनमा जनपक्षीय उम्मेदवारको रुपमा तत्कालीन वस्तीपुर गाउँपञ्चायतको उपप्रधानपञ्च र २०५४ को स्थानीय निर्वाचनमा गाविस अध्यक्ष जितेका वाम गठबन्धनका साझा उम्मेदवार यादव  कुशल संगठकका साथै सांगठनिक मतको आधारमा बलिया उम्मेदवार मानिएका छन्।

सिरहाको तत्कालीन इनर्वा गाउँ पञ्चायतको अध्यक्ष, सिरहा जिल्ला विकास समिति सभापति हुँदै सिरहा क्षेत्र नं. २ को सांसद, बिना विभागीय मन्त्री भइसकेका फोरमका यादव २०६४ को संविधानसभा निर्वाचनमा सिरहा क्षेत्र नं. १ बाट विजयी बनेका थिए। पछिल्लो स्थानीय तहको निर्वाचनमा पुनः एक पटक जिल्ला समन्वय समितिको प्रमुख बन्ने योजनासहित भगवानपुर गाउँपालिका ३ बाट  वडा सदस्यमा निर्वाचित यादव जिल्ला समन्वय समितिमा जाने बाटो बन्द भएपछि राजीनामा दिएर पुनः प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका हुन्।

कुन दलको कति मत?

कुल ८८ हजार ७३ मतदाता रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा लहान नगरपालिकाको २४ वडा, धनगढीमाई नगरपालिका १ र २, लक्ष्मीपुर गाउँपालिकाको २, ३, ४, ५ र ६, सखुवानन्कारकट्टी र भगवानपुर गाउँपालिका अन्तर्गत ४१ वडा रहेका छन्। उक्त क्षेत्रमा पर्ने स्थानीय तहका वडामध्ये १८ वडामा एमाले, ११ वडामा कांग्रेस, दुई वडामा माओवादी केन्द्र र १० वडा फोरमले जितेको छ।

पाँच वटै स्थानीय तहका १ नं. क्षेत्रमा पर्ने सबै वडाहरुमा दले पाएको मतलाई जोड्ने हो भने एमालेले १९ हजार सात सय २७, कांग्रेसले १६ हजार छ सय ५३, फोरम  १४ हजार दुई सय पाँच, माओवादी केन्द्र चार हजार चार सय ८८ र राजपाले एक हजार दुई सय ८१ मत पाएको छ। स्थानीय तहको निर्वाचनमा व्यक्तित्वको आधारमा आउने करिब २० देखि २५ प्रतिशत मत घटाउँदा पनि कांग्रेसले वाम गठबन्धनमा रहेको एमाले र माओवादी केन्द्रले वडा तहमा पाएको मत ल्याउन ठूलै कसरत गर्नुपर्ने देखिन्छ।

को उम्मेदवार बलियो?

दोस्रो पहिलो संविधानसभाको निर्वाचनमा कांग्रेसले जितेको यो क्षेत्रमा निर्वाचन क्षेत्र फेरबदल भएपछि मत पनि तलमाथि परेको छ तर स्थानीय तहको निर्वाचनमा पाएको मतलाई आधार मान्ने हो भने वाम गठबन्धनबाट उम्मेदवार यादव कांग्रेसभन्दा झण्डै एक तिहाई मतले अगाडि देखिन्छन्।

लामो समय कांग्रेसमा राजनीति गरेका राजलाल फोरममा प्रवेश गरेर पहिलो संविधानसभा अगाडि प्रवेश गरेपछि विजेता समेत बनेका थिए। पूर्व कांग्रेस भएकाले पनि राजलालले कांग्रेसकै मत काट्ने, प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयन अघि मात्र एमाले प्रवेश गरेका लहानका पूर्व मेयर तथा राप्रपा केन्द्रीय सदस्य लगनलाल चौधरीको करिब चार हजार मत वाम गठबन्धनमा थपिंदा वाम गठबन्धनका उम्मेदवार अन्य उम्मेदवारको तुलनामा बलियो देखिन्छन्।

क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टीका हरिनारायण महतो, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाबाट सुरेन्द्रप्रसाद साह, नयाँ शक्ति पार्टीका ज्योतिकुमार राय दनुवारसहित जम्मा १४ जनाको उम्मेदवारी परेको छ जसमा पाँच जना स्वतन्त्र उम्मेदवार छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.