|

भक्तपुर : भक्तपुरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको वाम गठबन्धनमा समस्या देखिएकोछ। भक्तपुरको क्षेत्र नं. १ अन्तर्गतको प्रदेशसभा १ मा एमालेका उम्मेदवार हरिशरण लामिछाने उम्मेदवारी फिर्ता नलिएपछि वाम गठबन्धनकै दुई उम्मेदवार कायम भएका छन्।

नेकपा एमाले र माओवादी केन्द्रबीच भक्तपुरको क्षेत्र नं. १ को प्रतिनिधिसभा र प्रदेशसभा १ माओवादी केन्द्रलाई दिने सहमति भएको थियो। त्यसैगरी प्रदेशसभा २ मा एमालेका उम्मेदवार माओवादी केन्द्रको निर्वाचन चिन्ह लिएर चुनावमा जाने सहमति भएको थियो।

सोही अनुसार माओवादी केन्द्रले प्रतिनिधिसभामा मिलन सुवाल र प्रदेशसभा १ मा देवीप्रसाद (डिपी) ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। एमालेका नेता रोमन शिलाकार माओवादी केन्द्रको चिन्ह पाउने गरी माओवादीकै उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएको थियो। तर त्यसमा गत स्थानीय तहको निर्वाचन प्रमुख र उपप्रमुखसहित बहुमत सिट जितेको क्षेत्र माओवादीलाई दिनु हुँदैन भन्दै एमालेका भक्तपुरका केही नेता र एमालेका वैकल्पिक केन्द्रिय सदस्य सोम मिश्रसहितले विरोध जनाएका थिए। सोही विरोधका बीच गत १६ गते एमालेले ठूलो तामझामका साथ जिल्ला सचिव हरिशरण लामिछानेको उम्मेदवारी दर्ता गरेको थियो। लामिछानेको टिकटमा एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर रहेको छ।

लामिछानेको उम्मेदवारी फिर्ता गरेर वाम गठबन्धनको आधिकारिक उम्मेदवार डीपी ढकाल भएको घोषणा गर्ने आइतबार दुवै दलका नेताहरुको प्रयास असफल भयो। एमालेका प्रदेश नं. ३ का ईन्चार्ज अष्टलक्ष्मी शाक्यले लामिछानेलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिए पनि उनले नमानेको माओवादी केन्द्र भक्तपुरका संयोजकसमेत रहेका उम्मेदवार डीपी ढकालले बताए।

शाक्यको निर्देशनपछि एमालेका शाक्य, सानु श्रेष्ठ र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र हितमान शाक्यसहितको छलफलमा सोम मिश्रले लामिछानेको उम्मेदवारी फिर्ता लिन नमानेपछि भक्तपुरमा वाम गठबन्धन भंग भएको ढकालले बताए।

ढकालले माओवादी केन्द्रको बलियो क्षेत्रमा एमालेले सहयोग नगरेपछि गठबन्धनको औचित्य सकिएको बताउँदै भक्तपुरका अन्य क्षेत्रमा एमालेलाई कसरी सहयोग गर्ने भन्ने गम्भीर प्रश्न खडा भएको प्रतिक्रिया दिए।

एमाले वैकल्पिक केन्द्रिय सदस्य मिश्रले वाम तालमेल कायम हुने दावी गरे। उनले माओवादीले उम्मेदवारी फिर्ता लिने विषयमा छलफल भइरहेको बताउँदै दुवै दलले फिर्ता नलिए क्षेत्र नं. १ को प्रदेश १ मा दुवै दलबीच स्वच्छ प्रतिस्पर्धा गरेर अन्य स्थानमा गठबन्धन कायम गरेर अघि बढ्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.