|

काठमाडौं: प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० सिटका लागि निर्वाचन आयोगमा दलका तर्फबाट पेस भएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा एक दर्जन दलले ५० जनाको नामसमेत समावेश गर्न सकेका छैनन्। प्रतिनिधिसभातर्फ ५० वटा दल र प्रदेशसभातर्फ ३८ वटा दलले समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची पेस गरेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नयाँ शक्ति पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ सबै सिटमा उम्मेदवार उठाएका छन्। महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिधिसभातर्फ ११० जनाको नाम समावेश गरे पनि प्रदेशसभातर्फ १६४ जनाको मात्र नाम बन्द सूचीमा राखेको छ।

राजपाले प्रदेशसभाको समानुपातिकतर्फ ३ नम्बर प्रदेशमा ३९, पाँच नम्बर प्रदेशमा २४, ६ नम्बर प्रदेशमा ४ र ७ नम्बर प्रदेशमा १७ जनाको मात्र नाम समावेश गरेको छ। समानुपातिकतर्फ ३ नम्बरबाट ४४, ५ नम्बरबाट ३५, ६ नम्बरबाट १६ र ७ नम्बरबाट २१ जनाको प्रतिनिधित्व हुने भएकाले त्यतिकै संख्यामा उम्मेदवारको नाम बन्द सूचीमा राख्न पाइन्छ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले प्रदेशसभामा तोकेको भन्दा कम २०१ जना उम्मेदवार उठाएको छ। उसले ६ नम्बर प्रदेशमा आठ जना र ७ नम्बर प्रदेशमा नौ जनाको मात्र नाम बन्द सूचीमा राखेको हो।

पशुपतिशमशेर जबरा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले प्रतिनिधिसभामा ११० जना र प्रदेशसभातर्फ २०० जनालाई समानुपातिकतर्फ उम्मेदवार बनाएको छ। सीपी मैनाली नेतृत्वको नेकपा मालेले प्रतिनिधिसभातर्फ १०८ र प्रदेशसभातर्फ २०९ जनालाई समानुपातिकतर्फ उम्मेदवार बनाएको छ।

अघिल्लो संविधानसभामा प्रतिनिधित्व गर्ने दल राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभामा १०२ र प्रदेशसभामा १४८ जनालाई समानुपातिकतर्फ उम्मेदवार बनाएको छ। नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभामा ६७ र प्रदेशसभातर्फ १०२ जनालाई उम्मेदवार बनाएको छ।

मालवरसिंह थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभातर्फ ६७ जना र प्रदेशसभातर्फ १०५ जनालाई उम्मेदवार बनाएको छ। विश्वेन्द्र पासवान नेतृत्वको बहुजन शक्ति पार्टीले प्रतिनिधिसभामा २६ जनालाई र प्रदेशसभामा ६५ जनालाई समानुपातिकतर्फ उम्मेदवार बनाएको छ।

निवर्तमान सांसद हरिश्चरण साह नेतृत्वको नेपाली जनता दलले प्रतिनिधिसभामा २० जना र प्रदेशसभामा ९९ जनालाई उम्मेदवार बनाएको छ। निवर्तमान सांसद रुक्मिणी चौधरी नेतृत्वको संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट) ले प्रतिनिधिसभामा ३४ र प्रदेशसभामा ७१ जनालाई समानुापतिकतर्फ उम्मेदवार बनाएको हो। 

संसदमा प्रतिनिधित्व नगरेका दल, जसले ५० बढी उम्मेदवार उठाए

अघिल्लो व्यवस्थापिमा संसदमा प्रतिनिधित्व नगर्ने भए पनि केही दलले ५० भन्दा बढी उम्मेदवार समानुपातिकतर्फको बन्द सूचीमा समावेश गरेका छन्। त्यसमा सबैभन्दा बढी डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) ले प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २०० जनालाई समानुपातिकमा उम्मेदवार बनाएको छ।

२०६४ मा एमालेबाट समानुपातिकतर्फ सांसद भइसकेका मुहम्मद रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले प्रतिनिधिसभामा ११० जना र प्रदेशसभामा ९५ जनालाई उम्मेदवार बनाएको छ। 

काठमाडौंको प्रधानपञ्च भएका कांग्रेस नेता हरिबोल भट्टराई नेतृत्वको नेपाली कांग्रेस (बीपी)ले प्रतिनिधिसभामा २८ र प्रदेशसभामा ६० जना (१ नम्बर प्रदेशबाहेक) उम्मेदवार समानुपातिकतर्फ उठाएको छ।

वीवीसी नेपाली सेवाको जागिर छोडेर नयाँ दल खोलेका चर्चित पत्रकार रवीन्द्र मिश्र नेतृत्वको विवेकशील सझा पार्टीले प्रतिनिधिसभामा २५ र प्रदेशसभामा ६० जनालाई उम्मेदवार बनाएको छ। चर्चामै नआएको राष्ट्रिय मुक्ति आन्दोलन नेपालले प्रतिनिधिसभामा ५७ र प्रदेशसभामा ६१ जनालाई उम्मेदवार बनाएको छ। 

राष्ट्रिय शिवसेना पार्टी र राष्ट्रिय नागरिक पार्टीले संयुक्त रूपमा प्रतिनिधिसभामा ६० र प्रदेशसभामा ११८ जनालाई समानुपातिकतर्फ उम्मेदवार बनाएका छन्। देशभक्त गणतान्त्रिक मोर्चाले प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २०१ जनालाई समानुपातिक उम्मेदवार बनाएको छ। 

ग्रिन पार्टी नेपालले प्रतिनिधिसभामा ३४ र प्रदेशसभामा २६, चुरेभावर लोकतान्त्रिक पार्टीले प्रतिनिधिसभामा ४२ र प्रदेशसभामा ३४ र मंगोल नेसनल अर्गनाईजेसनले प्रतिनिधिसभामा १४ र प्रदेशसभामा ४९ जनालाई समानुपातिकतर्फ उम्मेदवार बनाएको छ।

नेपाल जनता पार्टीले भने प्रतिनिधिसभामा ५० र प्रदेशसभामा ७ जनालाई उम्मेदवार बनाएको छ। प्रदेशसभाका ७ जना उम्मेदवार सबै २ नम्बर प्रदेशका छन्। 

५० भन्दा कम समानुपातिकमा उम्मेदवार उठाउने दलहरू 

दुई दर्जन बढी दलले ५० उम्मेदवार पनि उठाउन सकेनन्। 

ताम्सालिङ लोकतान्त्रिक पार्टी – प्रतिनिधिसभामा ११ र प्रदेशसभामा १५ जना (३ नम्बर प्रदेशमा मात्र)

नेपाः राष्ट्रिय पार्टी – प्रतिनिधिसभामा ११  जना र प्रदेशसभामा २० जना (३ नम्बर प्रदेशमा मात्र)

युवा नेपाल पार्टी – प्रतिनिधिसभाभमा ११ जना र प्रदेशसभामा ८ जना (२ नम्बर प्रदेशमा मात्र) 

नेपाल युवा किसान पार्टी – प्रतिनिधिसभामा ११ र प्रदेशसभामा १० जना (५ नम्बर प्रदेशमा मात्र) 

संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल – प्रतिनिधिसभामा ११ जना र प्रदेशसभामा १८ जना (१, ३ र ५ नम्बर प्रदेशमा मात्र)

आमूल परिवर्तन मसिहा पार्टी नेपाल – प्रतिनिधिसभामा ३३ जना र प्रदेशसभामा १६ जना (१ र ३ नम्बर प्रदेशमा मात्र)

नेकपा (मार्क्सवादी) – प्रतिनिधिसभामा १९ र प्रदेशसभामा १३ जना (३ र ५ नम्बर प्रदेशमा मात्र)

जन प्रजातान्त्रिक पार्टी – प्रतिनिधिसभामा २० जना र प्रदेशसभामा ९ जना (१ र ३ नम्बर प्रदेशमा मात्र)

लिवरल डेमोक्रेटिक पार्टी नेपाल – प्रतिनिधिसभामा ११ जना प्रदेशसभामा २९ जना (२ र ३ नम्बर प्रदेशमा मात्र)

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – प्रतिनिधिसभामा ३३ र प्रदेशसभामा १७ जना (१ र ४ नम्बर प्रदेशमा मात्र)

राष्ट्रिय समाजबादी पार्टी – प्रतिनिधिसभामा २७ र प्रदेशसभामा १८ जना (३ नम्बर प्रदेशमा मात्र)

प्रतिनिधिसभामा मात्र उम्मेदवार उठाउने दलहरू

नेपाल लोकतान्त्रिक जनकांग्रेस ११, नेपाल दलित पार्टी ११, जनशक्ति नेपाल ११, हाम्रो पार्टी ११, नेपाल नौलो जनवादी पार्टी ११, राष्ट्रिय यथार्थवादी पार्टी ११ र देशभक्त लोकतान्त्रिक पार्टीले १३ जनालाई समानुपातिकतर्फ उम्मेदवार बनाएका छन्। 

नेपाल समावेशी  पार्टीले १५, नेपाल वादले १९, नेपाल सुकुम्वासी पार्टी नेपालले ३३, नेपाल देशभक्त समाजले ३४ र नेपाल दर्शनले ५० जनाको नाम समानुपातिकतर्फको बन्द सूचीमा समावेश गरेका छन्।

प्रदेशसभामा मात्र उम्मेदवार उठाउने पार्टी 

नेपाल समाजवादी पार्टी (लोहियावादी)– ४३ जना (२ नम्बर प्रदेशमा मात्र)
एेतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल– २४ जना (२ नम्बर प्रदेशमा मात्र)
दलित मुश्लिम जनशक्ति पार्टी– २२ जना (२ नम्बर प्रदेशमा मात्र)
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.