|
फोटो : lumbinitimes.com

नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य हरिबोल गजुरेल केपी ओली नेतृत्वको सरकारमा कृषि मन्त्री थिए। वर्तमान सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निकट सहयोगी मानिने गजुरेलसँग थाहाखबरका लागि तीर्थ कोइरालाले गरेको कुराकानीः

मन्त्रिपरिषदले यतिका दिन बित्दा पनि पूर्णता पाएन नि?

नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको अधिवेशनका कारण केही दिन अल्झियो। उहाँहरु अन्तरिक सहमतिमा जुट्नु भएको छ। आजभोलि मै मन्त्रिपरिषद्‍ले पूर्णता पाउँछ।

तपाईँहरु कै पनि त पूरा भएको छैन नि। कारण के हो?

हाम्रो त लगभग सकियो। अब समस्या छैन।

सबैलाई समेट्दा यो मन्त्रिपरिषद् पहिले भने जस्तो सानो त नहुने भो हैन?

होइन, हामी पहिलेको सरकार भन्दा कुनै पनि हालतमा ठूलो हुन दिन्नौँ।

अघिल्लो सरकार र यो सरकारबीच तात्विक भिन्नता रुप र आकारमा सीमित हुने भयो भन्दा हुन्छ उसोभए?

होइन। यो सरकार विगतका सरकार भन्दा तात्विक रुपमा भिन्न छ। अघिल्लो समीकरण संविधान बन्नुको पृष्ठभूमिमा बनेको थियो। यो सरकार संविधान कार्यान्वयनको जटिल कार्यभार बोकेर खडा भएको छ। यसको नेतृत्वको पृष्ठभूमि फरक छ। यसका नेतृत्व र सहभागीको चरित्र नै फरक छ। हामी यथास्थिति होइन परिवर्तनको आभाष दिन आएका छौँ।

सरकारमा सहभागी दलहरुसँग भावना र कदम मिल्न सहज छ त?

अवश्य पनि दलहरुबीच सिद्धान्त फरक छ। तर सरकार चलाउन र कामका प्राथमिकता तोक्न सातबुँदे सहमति मार्फत तपाईँले भन्नुभए जस्तो भावना र कदम मिलाउने काम भइसकेको छ।

विगतको सरकारले कामै गरेन त? तपाईँ आफैं मन्त्री हुनुहुन्थ्यो।

कामै गरेन भन्ने होइन। भनेजस्तो गर्न सकेन भन्ने हो। त्यसैले हामी नयाँ समीकरणको पक्षमा उभिन बाध्य हुनुपरेको हो। ओली नेतृत्वको सरकारले जे जति काम गर्‍यो त्यो हाम्रो सहभागिता कै कारण सम्भव भएको हो। केही कामहरु भएका हुन् तर आशा अनुरुप भएन भन्ने मात्रै हो।

आशा के थिए? के भयो के चाहिँ भएन ?

संविधान जारी गर्ने काम भयो। भूकम्प पीडिहरुको राहतको काम पनि सुरुमा भएकै हो। नाकाबन्दीलाई झेल्न सरकारले जोडबल गरेकै हो। तर शान्ति प्रक्रियालाई टुंगो लाउने भूकम्प पुनर्निर्माण र संविधान कार्यान्वयन विशेष गरी संघीयताका पक्षमा तत्कालीन प्रधानमन्त्री ओली गम्भीर देखिनुभएन।

सबै दोष ओलीलाई मात्र दिन मिल्छ? सरकार सञ्चालन गर्ने संयन्त्रमा त यहाँहरुका अध्यक्ष प्रचण्ड पनि हुनुहुन्थ्यो नि ।

केही राम्रा काम हुनुको कारण नै संयन्त्रमा अध्यक्ष प्रचण्ड भएकैले सम्भव भएको हो। ओलीजी आत्मकेन्द्रित असहज एकलकाटे भएर मुस्किल पर्ने गरेको त उहाँकै दलका नेताहरुले पनि बताई रहनुभएको छ। माओवादीका मन्त्रीहरु बीच नै खेल्ने र अरुका कुरा नसुन्ने उहाँको कामले अप्ठ्यारो बनायो। गठबन्धनका सहभागीबीच त परै जाओस् उहाँले समग्र एमाले भित्रमात्र होइन उहाँकै गुटका साथीहरुसँग समेत सल्लाह गर्न छोडेर हिँड्न थाल्नु भएपछि के के भयो भयो।

ओली नेतृत्वको सरकारमा बस्दा आफैले चाहिँ उहाँको मूल्यांकन कसरी गर्नु भयो? सकारत्मक कुरा के थिए त?

अरु कुरा त भनिसकें। उहाँमा सकारात्मक कुरा हुँदै नभएका होइनन् । जोखिम मोल्न सक्ने अडान राख्ने दबेर नबस्ने राम्रो बानी पाएँ । प्रचण्ड पनि अडान लिनुहुन्छ तर व्यवहारवादी पनि हुनुहुन्छ । ओली जी अडानमा सीमित।

ओली नेतृत्वको सरकारले गरेका राम्रा काम भन्नु पर्दा के हुन् भन्नुहुन्छ?

नाकाबन्दीका समयमा सरकारले गरेको सापेक्षित व्यवस्थापन र जनसहयोग लिन गरेको प्रयास, केही कुरा नसमेटिए पनि नीति तथा कार्यक्रम र बजेट पनि दूरगामी महत्व राख्ने खालको ल्याएको छ ।

ओलीको राष्ट्रवाद पनि चर्चित रह्यो भन्छन् । तपाईलाई त्यस्तो लाग्दैन?

हो। उहाँ राष्ट्रवादी देखिनु भयो। तर अन्तरवस्तुमा उहाँ राष्ट्रवादी होइन भन्ने मेरो बुझाइ छ। महाकाली सन्धि लगायतमा उहाँले गरेका काम र उहाँको इतिहास पनि त्यस्तो होइन। उहाँलाई परिस्थितिले त्यस्तो देखाई दियो। उहाँ राष्ट्रवादी भन्दा बढी संघीयता विरोधी पहाडिया खस आर्यवादी हो।

उसो भए अब सरकार एमाले बाहेकका शक्तिबाट मात्र चल्छ? संविधान संशोधन चाहिँ कसरी सम्भव होला त?

त्यसो होइन। हामी एमाले सहितको सहमतिमा अगाडि बढ्ने प्रयासमा छौँ। सहमितमा नै अब देश चल्छ। तर नेपाली कांग्रेस र हामी त्यसबेलाका द्वन्द्वरत पक्ष भएकाले शान्ति प्रक्रियाको अन्तिम टुंगो लाउने काम पनि हामीबाटै सहज हुन्छ भन्ने हाम्रो ठहर छ। यसमा एमाले बाधक हुन्छ भन्ने हामीलाई लाग्दैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.