|

लहान : सप्तरी क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपा नेपालका पूर्व सह–महामन्त्री जयप्रकाश ठाकुरले दर्ता गराएको बागी उम्मेदवारी फिर्ता लिएनन्। यादवलाई राजपाले समर्थन गरे पनि राजपाका पूर्वसहमहामन्त्री ठाकुरले उम्मेदवारी फिर्ता नलिएका हुन्।

‘पाटीले अनुशासनको कारबाही नै गरे पनि म कुनै पनि हालतमा पछि हट्दिन’ आफ्नो मनोनयनको विषयमा ठाकुरले भने ‘स्थानीय जनताका दुःख सुखमा साथ दिने म, अहिले गठबन्धनको नाममा पार्टीले स्थानीय जनतासँगै काम गरिरहेको व्यक्तिलाई उपेक्षा गरेपछि मेरो उम्मेदवारी परेको हो।’

त्यस्तै, प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर २ ‘ख’ मा राजपाका महासचिव मनिषकुमार सुमनका विरुद्ध राजपाकै बागी बनेका लक्षमण यादवले पनि आफ्नो नाम फिर्ता लिएका छैनन्। क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी नयाँ शक्ति पार्टी नेपालकी शोभाकुमारी देवले भने आफ्नो नाम फिर्ता लिएकी छन्।

वाम गठबन्धनमा पनि बागी

वाम गठबन्धनबाट सप्तरी क्षेत्र नम्बर १ ‘क’ मा उम्मेदवार बनेका एमाले २ नम्बर प्रदेशका इञ्चार्ज सत्यनारायण मण्डलविरुद्व बागी बनेका प्रकाशकुमार खतिवडाले पनि उम्मेदवारी फिर्ता लिएका छैनन्। त्यस्तै, प्रदेशसभा ४ ‘ख’ बाट वाम गठबन्धनको उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार शशी यादवविरुद्ध बालेश्वर यादवले दिएको बागी उम्मेदवारी पनि कायमै रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। वाम गठबन्धनका उम्मेदवार विरुद्ध बागी बनेका क्षेत्र नं. ३ ‘क’ का उम्मेदवार एमालेका महेन्द्र चौधरीले भने उम्मेदवारी फिर्ता लिएका छन्।

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सप्तरीमा मनोनयन दर्ता गरेकामध्ये १६ जनाले मनोनयन फिर्ता लिएपछि एक सय ५२ जना उम्मेदवार कायम भएको छ। प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर १ मा १२, २ मा १७, ३ मा १० र ४ मा १३ गरी ५२ जनाको उम्मेदवारी कायम भएको छ।

मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाका अनुसार प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका नौ जनाले नाम फिर्ता लिएका छन्। प्रदेशसभा क्षेत्र नं. १ ‘क’ मा ९ र ‘ख’ ८ जना, क्षेत्र नं. २ ‘क’ मा ११ र ‘ख’ मा १९, क्षेत्र नं. ३ ‘क’ मा १७ र ‘ख’ मा १३ तथा क्षेत्र ४ को ‘क’ मा ११ र ‘ख’ मा १२ जनाको उम्मेदवारी कायम भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.