यस्तो छ मतको लेखा जोखा

|

काठमाडौं : प्रदेश नम्बर ५ को पहाडी जिल्ला गुल्मी २०४८ पछि एमालेको गढको रुपमा चिनिन्छ। २०७० सालको निर्वाचनमा साविकका तीनमध्ये दुईवटा निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी भए, तर मतान्तर भने न्युन रह्यो। 

तर साविकको ३ नम्बर निर्वाचन क्षेत्रमा भने कांग्रेसले २०४८ पछि जितको स्वाद पाएको छैन। २०४८ र २०५१ मा कांग्रेस एमालेले एउटै उम्मेदवार रुद्रमणि शर्मा र टंक पोखरेललाई उठाएका थिए। ०४८ मा शर्मा र ५१ पोखरेल विजयी भएका थिए। 

२०५६ को निर्वाचनमा कांग्रेस एमाले दुबैले उम्मेदवार परिवर्तन गरे। एमालेबाट तत्कालीन विद्यार्थी नेता गोकर्ण विष्ट उम्मेदवार बने भने कांग्रेसबाट तत्कालिन जिल्ला सभापति त्रैलोक्यप्रताप सेन।

२०५६ को निर्वाचनमा सेनलाई हराएर विजयी भएसंगै एमालेले विष्टको विल्कल्प यो निर्वाचन क्षेत्रमा खोजेको छैन। कांग्रेसले भने प्रत्येक निर्वाचनमा उम्मेदवार परिवर्तन गरिरहेको छ। २०६४ तत्कालीन जिल्ला पार्टी सभापति सुरेश भुसाल र २०७० मा पुन त्रैलोक्यप्रताप सेनलाई कांग्रेसले उम्मेदवार बनाएको छ। २०६४ सालमा विष्टलाई हराएर माओवादी उम्मेदवार चन्द्रबहादुर थापा सागर विजयी भए। तर, २०७० मा विष्ट विजयी भए भने कांग्रेसका सेन दोस्रो भए, माओवादी तेस्रोमा रह्यो।  

यस वर्ष हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ मा उनै विष्टको नयाँ प्रतिस्पर्धीका रुपमा कांग्रेसका चन्द्र केसी आइपुगेका छन्। २०५१ मा साविकको गुल्मी दुईमा प्रदीप ज्ञवालीसँग हारेका केसी अहिले विष्टसँग प्रतिस्पर्धा गर्न आइपुगेका छन्। २०४८ सालमा गुल्मी जिल्ला विकास समिति सभापति भएका केसीलाई सोही क्षेत्रमा दुई पटक विजयी भइसकेका र हार्दा पनि उर्जामन्त्री भएर चर्चा कमाएका विष्टसँग प्रतिस्पर्धा गर्न सहज भने छैन।

यसवर्ष निर्वाचन क्षेत्र निर्धारण गर्दा गुल्मीमा दुईवटा मात्र निर्वाचन क्षेत्र  बनेका छन्। साविकको एक र दुई नम्बर निर्वाचन क्षेत्रको केही क्षेत्र तथा तीन नम्बरको पुरै क्षेत्र जोडेर अहिलेको दुई नम्बर निर्वाचन क्षेत्र बनेको छ। यो क्षेत्र पूर्वमा अर्लाङकोटदेखि पश्‍चिममा अग्लुङसम्म फैलिएको ठूलो चुनावी क्षेत्र बनेको छ। तर मतमा प्रभाव भने साविकको तीन नम्बरले नै पार्नेछ। यी सबै क्षेत्रलाई आधार मानेर स्थानीय तहको मत हिसाब गर्ने हो भने वाम गठबन्धनका उम्मेदवार विष्ट फराकिलो मतले अगाडि देखिन्छन्।

यस्तो छ मतको लेखाजोखा

यस निर्वाचन क्षेत्रमा पर्ने रेसुङ्गा नगरपालिकाको १ देखि ६ नम्बर वडा र अन्य पाँच वटा स्थानीय तहका वडाहरु सहित ४२ वडामध्ये ३० वटा वडा अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन्। ११ वटामा कांग्रेस र एउटामा माओवादी केन्द्रको उम्मेदवार विजयी भएका छन्। यी तीन पार्टी बाहेकका दलको मत नगन्य मात्रै देखिन्छ। चौथो स्थानमा रहेको राप्रपाको मत निर्वाचन क्षेत्रभरीमा ३५९ मात्र रहेको छ।

यस क्षेत्रमा मतको हिसाब गर्दा कांग्रेसको भन्दा एमालेको मत ५ हजार ४३७ मात्रै बढी छ। स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको आधारमा एमालेको मत २७ हजार ४०३, कांग्रेसको २१ हजार ९६६ र माओवादीको ४ हजार ६९१ मत रहेको छ। एमाले माओवादीको गठबन्धनको कारणले गर्दा वाम गठबन्धनको १० हजार बढी मत देखिन्छ।

तर, कांग्रेस उम्मेदवार स्थानीय निर्वाचनकै आधारमा भोट नआउने बताउँछन्। 'मत स्थिर रहने बुझाइ वाम गठबन्धनको छ, तर हामी आवधिक निर्वाचनमा विश्‍वास गर्छौँ,  स्थानीय तहकै आधारमा भोट खस्ने हैन' कांग्रेस उम्मेदवार केसीले भने। उनले स्थानीय तहको निर्वाचनको मतलाई आधार मान्दा पनि कांग्रेसको भोट बढ्ने क्रममा देखिएको बताए।

के के हुन् चुनावी रणनीति?

साविकको तीन र हालको गुल्मी दुईमा एमाले कांग्रेस दुबैका उम्मेदवार आफ्ना योजना सहित गाउँ पसेका छन्। वाम गठबन्धनका विष्टले 'कुरा होइन काम' भन्दै मत मागेका छन् भने कांग्रेसका केसीले 'झुटको खेतीको अन्त्य र समृद्ध गुल्मीको लागि' भन्दै मत मागेका छन्। 'यो क्षेत्रमा धेरै काम भएको छ, मैले जित्दा काम गर्छ भन्ने विश्‍वास पनि जनताको बीचमा देख्छु, मेरै उपस्थिति जनताले रुचाएका छन्' विष्टले भने।

कांग्रेस उम्मेदवार केसीले कांग्रेस नजित्दा निर्वाचन क्षेत्र विकास निर्माणमा पछि परेको र धेरै कामहरु गर्न बाँकी रहेको विषयलाई मत माग्दा महत्व दिएका छन् भने वाम गठबन्धनका विष्टले अहिलेसम्म भएका कामलाई प्राथमिकता दिएर चुनावी रणनीति तय गरेका छन्।

'२०४८ बाट सुरु भएका कतिपय काम अहिले पनि पूरा हुन सकेका छैनन्, यो बीचमा यहाँ विकास निर्माणका काम धेरै रोकिएका छन्,कांग्रेस हार्दा विकास रोकियो भन्ने बुझाइ जनताको छ' केसीले भने। खानेपानी, सडक सञ्जाल र विद्युत दुबै उम्मेदवारले आगामी दिनमा आफूले गर्ने कामको रुपमा अघि बढाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.