|

गोरखा : मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नं. २ का उम्मेदवार डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ अहिले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गरिरहेका छन्। दुबै नेता जसरी पनि जित हासिल गर्ने योजनासाथ अघि बढिरहेका छन्। त्यसका लागि एक अर्कालाई अनेक लान्छना लगाएर मत आफूतिर तान्ने रणनीति पनि उनीहरुले अपनाएका छन्।

बाबुरामले गोरखा क्षेत्र नं. २ को सबै क्षेत्र एक पटक घुमेर सोमबार गोरखा सदरमुकाम फर्केका छन्। नारायणकाजी सुलीकोट गाउँपालिकामा घरदैलोमा छन्। गाउँमा चुनाव प्रचारमा पुगेका दुबैको चुनावी नारा भने उस्तै उस्तै छ। दुबैले गोरखामा भएका विकास निर्माणको जस लिन खोजेका छन् र आउँदा दिनमा विकास योजना पूरा गर्ने ग्यारेन्टी गरेका छन्।

बाबुरामले चुनावी अभियानका क्रममा भनेका छन् ‘गोरखाको विकास मैले गरेको हुँ। छेपेटारमा दरौंदी नदिमाथि पुल बनाएर, सडक बनाएर सदरमुकामसँग क्षेत्र नं. २ जोडेको हुँ। विकासका कति काम भए ती सबै जनताले विचार गर्नुभएकै छ। मलाई विश्वास छ, विगतमा मैले गोरखाको विकासको नक्सा जसरी कोरेको छु। त्यसलाई पूरा गर्न र रंग भर्न गोरखा दुईका जनताले मलाई बहुमतले जिताउनु हुनेछ।’

नारायणकाजीले भने बाबुरामको कुरा खण्डन गरेका छन्। ‘बाबुरामले कसरी मैले गरेको भनेर भन्ने’ उनी भन्छन् ‘बाबुरामले गर्थे भने माओवादी केन्द्र छाडेपछि किन गर्न नसकेको? मलाई जिताउनुस् गोरखामा विकासको मूल फुट्छ।’

गोरखा दुईको चुनावी प्रचारमा बाबुरामले नारायणकाजीलाई भन्दा नारायणकाजीले बाबुरामलाई बढी गाली र विरोध गरेका छन्। उनीहरु अहिले फरक फरक शक्तिको आडमा चुनाव लड्दैछन्। भट्टराईलाई नेपाली कांग्रेस, राप्रपा प्रजातान्त्रिक र संघीय समाजवादी फोरमको समर्थन छ भने श्रेष्ठलाई नेकपा एमालेको समर्थन छ। बाबुराम माओवादी जनयुद्धको डिजाइनर र भट्टराई जनयुद्धमा संलग्न नभएका व्यक्ति हुन् भन्ने बुझाइ पुराना माओवादी कार्यकर्तामा पनि छ। यद्यपी माओवादी छाडेपछि भट्टराईसँग चिढिएका कार्यकर्ता पनि उत्तिकै छन्।

गोरखा क्षेत्र नं. २ मा नारायणकाजी भन्दा बाबुराम नै जनता समक्ष बढी परिचित छन्। गाउँगाउँमा चुनावी अभियानमा जाँदा पनि नारायणकाजीको सभामा बाबुरामको चुनावी सभामा सहभागीको संख्या बढी छ।

नारायणकाजीका चुनौती

नारायणकाजीलाई माओवादीको आन्दोलनमा होमिएकाहरुले आफूलाई भोट हाल्छन् कि हाल्दैनन भन्नेमा शंका रहेको माओवादीका पुराना एक नेताले बताए। ‘जनयुद्ध हुँदा नारायणकाजीले यो फाँसीवाद संज्ञा हो भन्नुभयो’ ती नेताले थाहाखबरसँग भने ‘त्यही जनयुद्धकै कारणले, माओवादी भएकै कारणले आफ्ना भाइ, दाइ, पति, छोरी लगायत आफन्त गुमाएकाहरुले उनलाई के भनेर भोट दिने? उनीहरुको मन जित्न नारायणकाजीलाई मुस्किल छ।'

बाबुरामको चुनौती

भट्टराईलाई माओवादीबाट पीडित गोरखा क्षेत्र नं. २ का कांग्रेस समर्थकले भोट नहाल्ने बताइसकेका छन् । भट्टराईकै मामा पर्ने र ०६४ सालको निर्वाचनका प्रतिद्वन्द्वी तथा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति चन्द्रप्रकाश न्यौपाने, कांग्रेसका सहिद परिवारका सदस्य गेहेन्द्र विष्टहरु उनलाई भोट नहाल्ने भनिरहेका छन्। भट्टराईको अर्को चुनौती के छ भने वाम गठबन्धनमा केही समय पनि नटिक्नु र त्यहाँ टिक्न नसक्नुको खास तर्क दिन नसक्नु नै हो।

के भन्छन् बाबुराम र नारायणकाजीका चुनावी कमाण्डर?

नयाँ शक्ति नेपाल पार्टीका जिल्ला संयोजक रमेश पोखरलेले चुनावी अभियानका क्रममा भट्टराईसँग दीर्घकालीन विकासको आशा जनताले गरेको बताए। 'डाक्टरसापसँग गोरखा दुईका जनताले अनौठो केही मागेनन्’ पोखरेलले भने ‘दीर्घकालिन विकास, सुरु भएर पूरा नभएका विकासका परियोजना पुरा होस् भन्ने चाहना राखेका छन्,  विजुली बत्ती खानेपानी र स्वास्थ्यका बारेमा गाउँलेले समस्या देखाए।’

गोरखा दुईको माथिल्लो क्षेत्रमा नेपाली कांग्रेसका नेता तथा गोरखा २ को ख का प्रदेश सभा सदस्यका उमेद्वार प्रकाशचन्द्र दवाडीको अभियान र भट्टराईको विज्ञताले जनता भट्टराई र दवाडी दुबैलाई भोट हाल्न आतुर भएको उनको तर्क छ। ‘हिजोदेखि व्यक्तिगत रुपमा समाजसेवा मार्फत दवाडीज्यूले गर्नुभएको काम र भट्टराईले कोरेको विकासको नक्सा पुरा गर्न जनता भट्टराईको भर परेको देखिन्छ।’  

नारायणकाजी श्रेष्ठका चुनावी कमाण्डर हितराज पाण्डेले जनताले स्थिर सरकार चाहेकाले वाम गठबन्धनका उम्मेदवार श्रेष्ठको जित हुने बताउँछन्। ‘जनताले चुनावी अभियानमा स्थिर सरकारको माग गरेका छन्’ उनले भने ‘हामीले त्यही स्थिर सरकार, विकास निर्माणलाई गतिशील बनाउन नै वाम गठबन्धन गरेको भनेर प्रष्ट पारेका छौं। म आफू गोरखा २ को जनप्रतिनिधि (२०७० सालमा निर्वाचित) हुँदा बोलेको कुराहरु पूरा गरेको छु, यहाँको  भूगोल बुझेको छु र माग बुझेको छु। त्यसैले हामी प्रतिस्पर्धी गठबन्धन भन्दा बलियो छौँ।’

नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष किशोरजंग थापा संगठनमा श्रेष्ठ र लोकप्रियतामा डा. भट्टराई अगाडि रहेको बताउँछन्। ‘नारायणकाजीले चुनाव जितिहाल्न पनि त्यति सजिलो छैन। नयाँ शक्तिको भन्दा संगठन दह्रो हुनु मात्रै नारायणकाजीको राम्रो पक्ष हो। नारायणकाजी गोरखाका लागि पाहुना जस्ता हुन्' उनी भन्छन् 'गोरखाका हरेक गतिविधिमा बाबुराम जसरी संलग्न हुन नसक्नु र बाबुरामको जस्तो व्यक्तित्व नहनु उनको चुनौती हो। श्रेष्ठको तुलनामा भट्टराई जिल्लामैत्री छन्।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.