|

काठमाडौं : निर्वाचन आयोगले मतदानको तीन दिनअगावै हरेक मतदान केन्द्रमा मतपत्रसहित ६२ प्रकारका निर्वाचन सामग्री पुर्‍याउने भएको छ। देशभर कुल १९ हजार ८ सय ९ मतदान केन्द्र छन्। पहिलो चरणमा १० मंसिरमा ३२ जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ।

आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन सामग्री मतदान हुनुभन्दा तीन दिनअघि नै सम्बन्धित केन्द्रमा पु¥याइने बताए। निर्वाचन सामग्रीअन्तर्गत मतपत्र, अनुसूची फाराम, कपडा, स्ट्याम्प प्याड, स्वस्तिक चिह्न, मसी, सियोधागोलगायत पर्छन्। मतपेटिका भने स्थानीय निर्वाचनमा प्रयोग भएकाबाटै काम चलाइनेछ।

‘निर्वाचन हुनुभन्दा तीन दिनअघि मतदान केन्द्रमा मतपत्रलगायत सम्पूर्ण सामग्री पुर्‍याउने गरी कार्ययोजना बनाएका छौं,’ प्रवक्ता ढकालले भने, ‘सशस्त्र र सेनाको ट्रक र आवश्यक परेको खण्डमा हेलिकोप्टरसमेत प्रयोग गरी निर्वाचन सामग्री ढुवानी गर्दै छौं।’

उनका अनुसार सडक सञ्जालले नजोडिएको विकट क्षेत्रमा निर्वाचन सामग्री हेलिकोप्टरमार्फत लगिनेछ। पहिलो चरणमा निर्वाचन हुने जिल्लामध्ये कतिपय जिल्लामा निर्वाचन सामग्री लगिसकिएको छ। केही जिल्लामा भने बाँकी छ।

ढकालका अनुसार पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरूमध्ये मतपत्रलगायत सामग्री पुग्न बाँकी रहेको जिल्लामा आगामी २७ कात्तिकभित्रै पुग्ने गरी काम भइरहेको छ। जिल्लामा निर्वाचन सामग्री पुगेपछि मतदान केन्द्रमा लगिनेछ।निर्वाचन आयोगले हाल पहिलो चरणको निर्वाचनका लागि समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणाली गरी दुवै चरणको मतपत्र छापिसकेको छ। प्रत्यक्षको मतपत्र अलगअलग हुनुपर्ने अदालतको आदेशपछि आयोगले सोहीबमोजिम मतपत्र छापेको हो।

हाल दोस्रो चरणअनुरूप २१ मंसिरमा हुने निर्वाचनका लागि प्रत्यक्षतर्पmको मतपत्र छाप्ने काम जारी रहेको आयोगले जनाएको छ। ‘दोस्रो चरणको निर्वाचनका लागि मतपत्र छाप्ने काम भइरहेको छ,’ ढकालले भने, ‘हामीले यो महिनाभर वा अर्को महिनाको १, २ गतेसम्ममा छापिसक्नुपर्छ र त्यहीअनुसार कार्ययोजना बनाएर काम गरिरहेका छौं।’ मतपत्र छाप्ने काम जनक शिक्षा सामग्रीको छापाखानामा गरिँदै छ।

देशभर १ करोड ५४ लाख २७ हजार ९ सय ३५ मतदाता रहेको आयोगले जनाएको छ। दुवै चरणको र दुवै निर्वाचन प्रणालीका लागि ३ करोड ४० लाखको हाराहारीमा मतपत्र छाप्नुपर्नेछ।‘मतपत्र संख्या ठूलो मात्रामा छाप्नुपर्ने अवस्था भएको छ,’ ढकालले भने, ‘१ करोड ५४ लाख मतदाता रहेका छन्, त्यसमा १० प्रतिशत थपेर १ करोड ७४ लाखको हाराहारीमा समानुपातिक मतपत्र छाप्छौं र प्रत्यक्षतर्पm १ करोड ७४ लाखमा दुई गुणा गर्दा ३ करोड ४० लाखको हाराहारीमा मतपत्र छाप्नुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.