|

चितवन : पूर्वी चितवनको पर्यटकीय क्षेत्र सौराहादेखि लोथरसम्मको सडकलाई चौडा पारेर कालोपत्रेको काम थालिएको छ। दुवैतर्फ ढलसहित सडक निर्माणको कार्य अहिले धमाधम भैरहेको डिभिजन सडक कार्यालय चितवनले जानकारी दिएको छ। बहुवर्षे ठेक्काअन्तर्गत काम भइरहेको र कार्यालयकै निगरानीमा कालोपत्रे थालिएको डिजिभिज सडक कार्यालय भरतपुरका सूचना अधिकारी वसन्तकुमार गाईंले जानकारी दिए।

यही क्षेत्रका संसद सुरेन्द्र पाण्डेको पहलमा आएको उक्त योजना अन्तरगत पहिलो चरणमा ९ किलोमिटर सडक कालोपत्रे गर्ने काम हुने छ। सडकमा दोहोरो सवारी साधन चलाउन सकिने जनाईएको छ। १३ करोड ८५ लाखको लागतमा सडक निर्माण कार्य भइराखेको पूर्वअर्थमन्त्रीसमेत रहेका निवर्तमान सांसद पाण्डेले जानकारी दिए।

रणनीतिक सडक निर्माण शीर्षकमा यो परेकाले यस सडकको निर्माण केन्द्रीय बजेटमार्फत नै भइरहेको हो। ढलबाहेक ११ मिटर चौडाइ हुने यो सडक तयार भएपछि दोहोरो सवारी साधन चलाउनको लागि कुनै समस्या नहुने जनाइएको छ। पछिल्लो समयमा सो क्षेत्रमा पर्यटन विकासका कार्यक्रमहरु चल्दै आएका छन्। सडक निर्माणले थप सहयोग पुग्ने कुमरोजका स्थानीय ईश्वरी पाठक बताउँछन्।

चितवन राष्ट्रिय निकुञ्ज नजिकैको सडक कालोपत्रे भइ विस्तार हुन थालेपछि ठूला लगानीका होटलहरुका सञ्चालकहरु आकर्षित हुन थालेका छन्। निकुञ्जको नजिकै रहेको मध्यवर्ती वनमा एकसिंगे गैडा, जरायो, पाटे बाघ, चित्तल, गौरी गाई, हात्ती, लगायतको वन्यजन्तु सजिलै देख्न सकिने भएकाले पनि यहाँ पर्यटकको चहलपहल बढेको छ।

यस क्षेत्रमा कुमरोज, जनकौली, गवै, हर्नरी, जनकपुर लगायतका पर्यटकीय आकर्षणका केन्द्र छन्। यही क्षेत्रमा अहिले नयाँ होटल निर्माणको लागि जग्गा खरिद कार्य धमाधम भएको स्थानीय कुलप्रसाद भुषालले जानकारी दिए। अहिले सो क्षेत्रमा सौराहाबाट पर्यटकहरु समेत जान थालेको पर्यटन व्यवसायी शिरलाल परियार बताउँछन्।

कृषि उत्पादन बजारमा लैजान, निकुञ्जको नजिकैबाट सवारी साधनबाटै अवलोकन गर्न, वन्यजन्तुको अवलोकन गर्न, पर्यटकीय गतिविधि विकास गर्न, व्यापार व्यवसाय गर्न सडक निर्माणले सहजता ल्याउने व्यवसायी तथा स्थानीय किसानहरुको विश्वास छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.