|

सोलुखुम्बु : जिल्लाको सोताङमा वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबीच शुक्रबार भएको झडपमा २ जना घाइते भएका छन्। झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र कांग्रेसका जिल्ला कोषाध्यक्ष पेमा तामाङ घाइते भएका प्रहरीले जनाएको छ। घाइते  नेपालीको सोताङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने कांग्रेसकी पेमा तामाङलाई हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ।

कसरी भयो झडप?

वाम गठबन्धनको पूर्व निर्धारित कार्यक्रम अन्तरगत शुक्रबार सोताङ बजारमा चुनावी सभा थियो। कार्यक्रम तयारीको क्रममा रहेका वाम गठबन्धन र काग्रेसबीच बिहीबारदेखि नै सामान्य विवाद हुँदै तनावको स्थिति सिर्जना भएको स्थानीय वासिन्दाको भनाइ छ।

कांग्रेसका कार्यकर्ताले बिहीबार राति वाम गठबन्धनको पर्चा पम्प्लेट च्यातेपछि वाम गठबन्धनका कार्यकर्ताहरुले त्यसको प्रतिरोध गर्दा स्थिति तनावपूर्ण बनेको हो। अन्तिममा कांग्रेसका कार्यकर्ताहरु भागेपछि स्थिति सामन्य भएको थियो। अहिले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता जुबु तर्फ गएको छ भने वाम गठबन्धनले सोताङमा जनसभा गरिरहेको छ।

अहिले कस्तो स्थिति?

बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म स्थिति तनावग्रस्त भए पनि अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीको टोलीले स्थिति नियन्त्रणमा लिई सुरक्षास्थिति मजबुत बनाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी जिल्लाबाट प्रहरी निरीक्षकको संयोजकत्वमा थप प्रहरी टोली घटना स्थलमा पठाई सकिएको प्रहरी नायव उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिए । 

प्रत्येक चुनावमा घट्ना हुन्छ सोलुखुम्बुमा

२०६४ मा सम्पन्न पहिलो संविधान सभाको निर्वाचन सोलुखुम्बुको गोरा, केरुङ र टाप्टिङको सिमाना पर्ने सिसाखोलामा काग्रेस र तत्कालीन माओवादी कार्यकर्ताबीच झडप भएको थियो। उक्त झडपमा एक जना माओवादी कार्यकर्ता गंगाबहादुर भुजेलको ज्यान गएको थियो भने तत्कालिन संविधान सभा सदस्य पदका उम्मेदवार बलबहादुर केसी गम्भीर घाइते भएका थिए।

यस्तै २०७० मा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा पनि साविक देउसा गाविसमा एक जना माओवादी कार्यकर्ता रश्मी राईको ज्यान गएको थियो भने पूर्व गाविस अध्यक्ष तथा नेपाली कांग्रेसका स्थानीय नेता सोमरिञ्जे राई गम्भीर घाइते भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.