|

धनकुटा : पहिलो किस्ता रकम लिएको तीन महिना बितिसक्दा पनि प्राविधिक र नक्साको डिजाइन नहुँदा यहाँका भूकम्पप्रभावितले घर निर्माण कार्य सुरु गर्न सकेका छैनन्।

भूकम्पले घर भत्काएपछि लामो समयसम्म टहरामा बस्दै आएका धनकुटेलीले तीन महिना अघि पहिलो किस्ता वापतको रकम लिदा निकै उत्साहित भएका थिए। तर, उनीहरुको त्यो उत्साह लामो समय भने टिक्न सकेन। पहिलो किस्ता ५० हजार रुपैयाँ उपलब्ध गराएको पुनर्निर्माण प्राधिकरणले प्राविधिक र घरको डिजाइन समयमै उपलब्ध नगराउँदा उनीहरू अझै टहरामै बास बस्न बाध्य छन्।

धनकुटामा पुननिर्माणको लागि छनोटमा परेका  २७ सय ९६ परिवारमध्ये २२ सय ५० परिवारले पहिलो किस्ता ५० हजार रुपैयाँ लिइसकेका छन्। तर, कसैले घर निर्माणभने पाएका छैनन्। जिल्लाका सात स्थानीय तहमध्ये धनकुटा र पाख्रिवास नगरपालिकाका आफ्नै प्राविधिक भए पनि अन्य पाँच स्थानीय तहमा प्रविधिक उपलब्ध छैनन्। प्राविधिक भएका नगरपालिकामा समेत काम सुरु भएको छैन।

आउँदो असार मसान्तसम्ममा घर निर्माणको कार्य सम्पन्न गरिसक्नु पर्ने भएपनि प्राविधिकर डिजाइन उपलब्ध नभएका कारण हालसम्म घर सुरु गर्न नपाउँदा धनकुटामा भूकम्पप्रभावित थप समस्यामा परेका छन्। घर निर्माण सुरु गरेसँगै प्राविधिक आवश्यक पर्ने भएकाले प्राविधिक उपलब्ध नभएकै कारण घर निर्माण सुरु गर्न नसकेको धनकुटा भिरगाँउका गणेश थापाले बताए। प्राविधिक घरको डिजाइनको माग गदै पटक–पटक नगरपालिका धाए पनि सुनुवाइ नभएको चन्द्रबहादुर दाहालले बताए।

दोस्रो किस्ता लिने समयसम्म घरको जग नै खन्न नपाएका स्थानीयलाई बल्लबल्ल उपलब्ध भएको अनुदान समेत उम्किने हो कि भन्ने चिन्ताले सताउने गरेको छ।
यता पटक–पटक प्राविधिक माग गरे पनि पुनर्निर्माण प्रधिकरणले नै उपलब्ध नगराएको जिल्ला समन्वय समिति धनकुटाका वरिष्ठ कार्यक्रम अधिकृत सीताराम गौतम बताए।

धनकुटामा हालसम्म २ हजार २ सय ५० परिवारका लागि पहिलो किस्ता वापतको ११ करोड २६ लाख रुपैयाँ निकासा भइसकेको छ। तर, प्राविधिक अभावकै कारण पुनर्निर्माण कार्य भने सुरु हुन सकेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.