विचार

निर्वाचनका बेलामा पत्रकारमाथि हुनसक्ने दुर्व्यवहार र न्यूनीकरण
SHARES

कात्तिक २९, २०७४

    निर्वाचनको मौसम लागेको छ। साँच्चैको प्राकृतिक मौसम त चिसो नै सुरु भएको छ र पहाडी भागमा त चिसोले आफ्नो बैँस नै देखाउँदै छ। माथिल्लो पहाडी भागमा त हिउँ नै पर्ने बेला भएको छ। तर अहिले नेपाल चुनावी मौसमको पछिल्लो चरणको मध्यभागमा छ र चुनावी सरगर्मीसँगै हिंसात्मक प्रवृत्तिको पनि सुरुवात हुन थालेको देखिन्छ। यसको पछिल्लो उदाहरण रुकुममा मन्त्री जनार्दन शर्मा र रोल्पामा पूर्व मन्त्री वर्षमान पुनमाथि भएका हमलालाई लिन सकिन्छ। त्यसलगत्तै सुरक्षा संयन्त्रसँग निर्वाचन आयोगले गरेको छलफल पनि चर्चामा नै छ। 

    निर्वाचनमा हुने झडप, विवाद र सामान्य कुटपिटसँगै हतियारको होड पनि केही वर्षदेखि सामान्य बन्न थालेको छ नेपालमा। साना हतियारहरूको विगविगी छ भनेर प्रहरी र पत्रकारहरूकै अनुसन्धानले देखाएका छन् अनि विदेशीहरू पनि डर नमानी हतियारसहित नेपालमा घुम्न आउन थालेका समाचारहरू पनि देखिन्छन्। यी सबै समाचारबाट नै थाहा पाइएका सूचनाहरू हुन्। अर्थात् यी निर्वाचनमा हुन लागेका र हुन सक्ने अपराधका कुराहरू पत्ता लगाउने भनेको पत्रकार र प्रहरीले हो। 

    प्रहरीका सूत्रहरू बाहिर देखिँदैनन् र सार्वजनिक पनि हुँदैनन्। पत्रकारहरूले त तत्काल दिएका सूचनाहरूको समष्टिगत स्वरूप नै हाम्रा लागि विश्लेषणका आधारहरू हुन्। 

    निर्वाचनमा जित्नै पर्ने र जित्न जे पनि गर्ने, जोसँग पनि मिल्ने र जोसँग मिल्दा फाइदा हुन्छ, त्यसबारेमा आफ्नो जिद्दी नछोड्ने प्रवृत्ति हाम्रा राजनेताहरूमा बढेको छ। सबै दलमा त्यस प्रकारका जिद्दीवालहरूको उपस्थिति देखिन्छ। यो पनि पत्रकारिताका माध्यमबाट नै थाहा पाइएको हो। यसरी सबैको सही सूचना दिँदा पत्रकार पक्कै सबैको प्यारो नहुन सक्छ। र त पत्रकार सधैँ आक्रमणको तारोमा परेको हुन्छ। 

    झन् यस्तो अस्वस्थ निर्वाचनको प्रतिस्पर्धामा गरिने जुनसुकै गलत कामको पनि भन्डाफोर गर्ने पत्रकार त सबैको आक्रमणको तारो हुने नै भयो। आक्रमण पनि कस्तो भने, सके इहलीला नै समाप्त पार्ने ताकि फेरि अर्को कुनै पत्रकारले त्यस्तो असल गोप्य कुरा लेख्ने, भन्ने, वाचन गर्ने र देखाउने हिम्मत नै नगरोस्। सन् २०१७ भरि नै नेपालमा त्यस्ता घटनाले पत्रिकाका पाना भरिएका छन् र पनि कसैमाथि कारवाही भएको सुन्न पाइएको छैन। विश्वभर पनि त्यस्ता घटना भइरहेका छन् र पनि कारवाही हुँदैनन्। एउटा तथ्यांकले भन्छ, ७१ जना पत्रकारहरूको हत्या भएको छ, कतै पनि छानबिन भएको देखिँदैन। 

    भनिन्छ, युद्ध भएका ठाउँमा, निर्वाचन भएका ठाउँमा पत्रकारमाथिका आक्रमण धेरै हुन्छन् र कारवाही त कता हो कता, अनुसन्धानसमेत गरिएको पाइँदैन। पत्रकारहरूको नियति कस्तो छ भने अरूका बारेमा अनुसन्धान गरेर कारवाहीको दायरामा अपराधीलाई ल्याउन कोसिस गर्ने पत्रकारमाथि हमला हुँदा, आक्रमण हुँदा र हत्या गरिँदा कोही कसैले पनि वास्ता गरेको देखिँदैन। यो दशकमा अहिलेसम्म एक हजार जनाजति पत्रकारहरूको हत्या भएको देखियो। आजसम्म ती पत्रकारहरू किन मारिए भनेर कसैले अनुसन्धान गर्दैन, पत्रकारहरूका संस्थाहरू कराउँदै गर्छन् तर कोही पनि सुन्दैनन्। 

    स्थापित रूपमा देखिएका राष्ट्रिय दलहरूले नै यस पटकको टिकट वितरणमा देखाएको मुख्य चरित्रले निर्वाचनभन्दा पहिले नै हार र जीतको आँकलन हुन थालेको छ। निर्वाचन आयोग स्वयं तोकिएको खर्च विवरणभन्दा बढी खर्च हुन थालेकोमा चिन्तित छ एकातिर भने निर्वाचनमा प्रवेश गरिसकेको आपराधीकरणसँग तर्सेको छ।

    अबको कुरा भनेको नेपालमा निर्वाचनका बेलामा सही समाचार आवश्यक छ। जनतालाई सुसूचित गर्ने काम जरुरी छ। प्रजातन्त्रको स्वास्थ्यका लागि पनि स्वच्छ, निष्पक्ष, धाँधलीरहित र निर्भय निर्वाचनको जरुरत छ। त्यसका लागि निर्वाचनको आचारसंहिताको पालनाका बारेमा सही समाचार आवश्यक छ। पर्यवेक्षणको काम साँच्चै भनौँ भने पत्रकारिताबाट नियमित भइरहेको छ, जसका पात्र भनेका पत्रकार नै हुन्। उनीहरूको सुरक्षाको प्रबन्ध आवश्यक छ। 

    मालीमा २ नोभेम्बर २०१३ मा मारिएका दुई जना फ्रेन्च पत्रकारहरूको सम्झनामा संयुक्त राष्ट्रसंघले त्यो दिनलाई पत्रकारहरूमाथि हुने आक्रमणको विरुद्धमा दण्डहीनताको अन्त्यको दिवस मनाउने गरेको छ। अर्थात् विश्वभर नै पत्रकारहरूमाथि हुने हमलाका बारेमा वास्ता गरिँदैन भनेर चेतना अभिवृद्धिका लागि आम नागरिकलाई, सरोकारवालालाई र पत्रकार स्वयंलाई समेत सचेत गराउने जिम्मा हामी सबैको हो। दण्डहीनताका विरुद्धमा सचेत नागरिकहरूको ऐक्यबद्धता जरुरी छ। 

    अहिले निर्वाचनका मौसममा एकातिर सही समाचारको, विवरणको र विश्लेषणको आवश्यकता छ भने राजनीतिमा प्रवेश गरेर मौलाएको आपराधीकरण उसरी नै बढेको छ। अस्वस्थ प्रतिस्पर्धा भनेको नै ‘मनी’ र ‘मसल’को प्रदर्शन हो। स्थापित रूपमा देखिएका राष्ट्रिय दलहरूले नै यस पटकको टिकट वितरणमा देखाएको मुख्य चरित्रले निर्वाचनभन्दा पहिले नै हार र जीतको आँकलन हुन थालेको छ। निर्वाचन आयोग स्वयं तोकिएको खर्च विवरणभन्दा बढी खर्च हुन थालेकोमा चिन्तित छ एकातिर भने निर्वाचनमा प्रवेश गरिसकेको आपराधीकरणसँग तर्सेको छ।

    सुरक्षाको प्रबन्ध भनेको देखिने अपराधका विरुद्धमा हो तर लुकेर छापामार शैलीमा आक्रमण गर्ने संस्कृतिको विकास भइसकेको र त्यस्ता छापामारहरू बेरोजगार भएर घरघरमा बसेको अहिलेको बेलामा सबैभन्दा असुरक्षितचाहिँ पत्रकार नै हुन सक्ने संभावना बढी छ। 

    सचेतनाको कुरा गर्दै गरौँला, तर यो निर्वाचनमा क्षेत्रमा खटिएका पत्रकारहरूको सुरक्षा हुनुपर्छ। सबैको सुरक्षा आवश्यक छ। मतदाताको सुरक्षा आवश्यक छ। उम्मेदवारको सुरक्षा आवश्यक छ। सुरक्षाकर्मीहरूमाथि पनि अनावश्यक उत्तेजना ल्याउने काम नहोस् भन्ने पनि उस्तै चिन्ता छ। तर समाचार दिएर जनता, सुरक्षाकर्मीलाई सुसूचित गराउने पत्रकारहरूमाथि भने झन् सुरक्षाको प्रबन्ध राम्रोसँग गरिनु आवश्यक छ। उनीहरूमाथि कुनै पनि प्रकारको धम्की, त्रास, डर, आक्रमण, हमला हुनुहुँदैन भन्नेबारेमा सरकार र नागरिक समाजका अगुवाहरू चिन्तित हुनु जरुरी छ। 

    आवधिक निर्वाचन भनेको प्रजातन्त्रको प्राणवायु हो। जनादेशलाई नयाँनयाँ बेलामा परख आवश्यक छ। तर त्यस्तो परख नक्कली तरिकाले हुुनुहुँदैन। साँच्चै जनताको आदेशको रूपमा मतपत्रले देखाउने जनादेश नै प्रजातन्त्रका लागि आवश्यक जनमत हो। त्यसको प्रयोग निर्बाध भएको छ कि छैन भनेर मिहिन तरिकाले जनताका घरदैलोमा पुग्ने, जनताको मनको कुरालाई समाजमा वितरण गर्ने पत्रकार नै सुरक्षित भएन भने उसले दिने सूचना कति सही होला, कति काम लाग्ने होला र कति भावी समयको मूल्यांकन गर्नका लागि कच्चा पदार्थको काम गर्ला? 

    पत्रकारहरूमाथिको हमला वा आक्रमण वा गरिने अपराधको दण्डहीनता तोडे मात्र प्रत्येक दिन नोभेम्बर २ हुनेछ र दण्डहीनताको अन्त्य भएन भने स्वतः पाइने सूचनाको हकबाट आम नागरिक वञ्चित हुने अवस्था आउनेछ। 

    हामी सबै पत्रकारहरूमाथि हुने कुनै पनि प्रकारको अपराधको दण्डहीनताका विरुद्धमा सचेत होआँै र पत्रकार स्वयं पनि अस्वस्थ प्रतिस्पर्धात्मक निर्वाचनको खलपात्रको निगरानीबाट बच्दै आफ्नो धर्मको पालना गरौँ। यसो गरेमा अपराधको न्यूनीकरण होला र हामी आफ्नो अधिकारको जगेर्ना गर्न सक्षम हुनेछौँ। निर्वाचनको बेलामा सतर्कता अपनाऔँ, जसले गर्दा सही समाचार पनि आओस् र हामी पनि हुनसक्ने आक्रमणबाट बच्न सफल होऔँ।

हरिविनोद अधिकारी

पत्रकार अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]